मंगलबार २३ जेठ २०८०

विराटनगर : पहिचान नखुल्दा र चिनजानका कोहीपनि सम्पर्कमा नआएका कारण दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको टाउकाको शल्यक्रिया रोकिएको छ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत अन्दाजी ४०/४५ वर्षीय पुरुषको शल्यक्रिया हुन नसकेको हो। घाइतेको पहिचान नहुँदा र आफन्त तथा परिवारका सदस्य फेला नपर्दा थप उपचारमा समस्या भइरहेको अस्पतालले जनाएको छ।

साइकलमा यात्रा गरिरहेका पुरुषलाई एनएल ०१ एएफ १६१२ नम्बरको भारतीय नम्बर प्लेटको लहरीले गत मंसिर २० गते दिउँसो कोसी लोकमार्गअन्तर्गत सुनसरीको दुहवी नगरपालिका–८ सोनापुरमा ठक्कर दिएको थियो।

दुर्घटना भएको झण्डै १ साता पुग्न लाग्दा पनि घाइतेको पहिचान हुन सकेको छैन भने आफन्त र परिवारका सदस्यसमेत अस्पताल एवं प्रहरीको सम्पर्कमा आएका छैनन्।

अस्पतालका प्रशासन प्रमुख प्रमेश देवकोटाले आफन्त र परिवारका सदस्य नभेटिँदा घाइतेको शल्यक्रिया र उपचारमा समस्या भइरहेको जानकारी दिए।

‘घाइतेको दाहिने खुट्टा र चारवटा करङ भाँचिएको छ,’ उनले भने, ‘टाउकोमा रगतसमेत जमेकाले अवस्था गम्भीर छ।’ देवकोटाका अनुसार आफन्त वा परिवारका सदस्य नभेटिएका कारण टाउकाको शल्यक्रिया गर्न पाइएको छैन।

सम्भावित जोखिम कसले बेहोर्ने भन्ने यकिन नहुँदा शल्यक्रिया गरेर थप उपचार अघि बढाउन नपाइएको देवकोटाको भनाइ छ।
प्रहरीले भने घाइतेको पहिचानको प्रयास भइरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले घाइतेको पहिचानको प्रयास गर्दै आफन्त एवं परिवारका सदस्यको खोजी तीव्र पारिएको बताए। ‘प्रहरी परिचालन गरेर र सामाजिक सञ्जालमार्फत व्यापक खोजी भइरहेको छ। तर, पत्ता लगाउन सकिएको छैन,’ उनले भने।

दुर्घटना गराउने लहरी र चालक भारतको बिहार आरा जिल्ला घर भएका ४९ वर्षीय दिनेश पासवानलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको माझीले बताए। उनले घाइतेको उपचारमा सहजीकरण गर्नका लागि दुर्घटना गराउने पक्षलाई अस्पतालको सम्पर्कमा पठाइसकिएको बताए।

महानगरको परिचय बोके पनि विश्व शहर बन्ने यात्रामा असफल काठमाडौंमा ‘मेट्रोपोलिटन’ जीवनशैली र ‘कस्मोपोलिटन’ संस्कृतिको प्रभाव पाइन्छ।

शेखर खरेल
काठमाडौं शहरको चरित्रमाथि लेख्नु एक प्रकारले आफ्नै बकपत्र लेख्नु सरह हो। किनकि, यो यस्तो मानिसको दसी हो जो शहर हुर्के जस्तै गाउँबासीबाट शहर (महानगर) बासीमा कायाकल्प भएको छ। पञ्चायतकालसम्म नगर (वा नगर पञ्चायत) भनिएको काठमाडौं बहुदलको पुनःस्थापनासँगै महानगरमा परिणत भयो।

समयक्रममा मुलुकका अन्य नगरहरूले काठमाडौंको सिको गर्दै आफूमाथि पनि महानगरको ट्याग झुन्ड्याए। तर, आफूलाई महानगर बताउने काठमाडौं शुद्ध महानगर (मेट्रोपोलिस) वा सर्वदेशीय शहर (कस्मोपोलिटन) भने होइन। काठमाडौंलाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने यो एउटा ठिमाहा शहर हो, जसमा गाउँका अवशेष र शहरका सपना विद्यमान छन्।

संसारका अन्य शहर झैं काठमाडौं पनि रैथाने र आगन्तुक मिलेर बनेको शहर हो। यहाँका रैथानेलाई दुई उपसमूहमा विभाजन गर्न सकिन्छ। पहिलो, भित्री काठमाडौं (बोलीचालीको भाषामा ‘कोर एरिया’)मा जन्मेहुर्केका। दोस्रो, बाहिरी काठमाडौं र काँठ क्षेत्रमा बसोबास गर्दै आएका, जुन क्षेत्र समयक्रममा नगरमा परिणत भए।

आगन्तुकको सन्दर्भ भने विश्वका महानगरहरूभन्दा फरक छ। विश्व महानगर विपरीत काठमाडौंका आगन्तुक बाह्य नभएर आन्तरिक आप्रवास सिर्जित हो। अध्ययन, उद्यम, रोजगारी र विविध खाले अवसरको खोजीमा उनीहरू मुलुकका अन्य भागबाट काठमाडौंको अस्थायी बसोबास र समयक्रममा काठमाडौंबासी बनेका हुन्। आगन्तुक वा बसाइँ सरेका समेत मुलुकबासी नै भएका कारण काठमाडौं महानगर अर्थात् ‘मेट्रोपोलिटन’ मात्र बन्यो, ‘कस्मोपोलिटन’ शहरमा स्तरोन्नति हुन सकेन।

यूरोप-अमेरिका मात्र नभएर एशिया र अझ दक्षिणएशियाकै केही महानगरदेखि काठमाडौं अलग्गै रहनुको मुख्य कारण ‘कस्मोपोलिटन’ चरित्रको अभाव हो। न्यूयोर्क, पेरिस, लन्डन, हङकङ, सिंगापुर, दुबई मात्र नभएर भारतकै मुम्बई र गोवाभन्दा काठमाडौं चारित्रिक रूपमै पृथक् छ। ती शहरहरूमा आफ्नै देश मात्र नभएर अन्य मुलुकका नागरिक अवसरका खोजीमा आउँछन्। सिनेनगरी मुम्बई अर्थात् ‘बलिउड’ भारतीय मात्र नभएर छिमेकका सबै मुलुकका प्रतिभाका निम्ति सपनाको शहर हो।

विदेशीका निम्ति सीमित अवसर भएकाले काठमाडौंमा गैरनेपाली, खास गरी पश्चिमाहरूको उपस्थिति अत्यन्तै पातलो छ। काठमाडौंको प्रवासी समुदाय (एक्स्प्याट कम्युनिटी) सानो र अस्थायी प्रकृतिको छ। यहाँ देखिने विदेशीहरू भनेको मूलतः पर्यटक नै हुन्, जसको संख्या विश्वका पर्यटकीय शहरहरू र यसै शहरको पर्यटकीय सामथ्र्यको हिसाबले पनि न्यून छ।

हाम्रै जस्तो पृष्ठभूमि रहेका पर्यटकले भरिभराउ रहने दक्षिण-पूर्वी एशियाली मुलुकका शहरहरूमा ‘कस्मोपोलिटन’ संस्कृतिको बलियो प्रभाव देख्न सकिन्छ। विश्वमा यस्ता कतिपय देश र शहरहरू छन् जहाँ स्थानीयको संख्यालाई पर्यटकले उछिनेको हुन्छ। उदाहरणका लागि, करीब सात करोड जनसंख्या रहेको फ्रान्समा बर्सेनि करीब नौ करोड पर्यटक भित्रिन्छन्, जसको आधा संख्या त राजधानी पेरिस पुग्छन्।

‘कस्मोपोलिटन’ नभए पनि काठमाडौंको आधुनिकतातर्फको यात्रा भने चाखलाग्दो छ। राणाकालसम्म ‘सांग्रिला’ को छवि बनाएको काठमाडौं एक प्रकारले निषेधित नगर रह्यो। राणाशाहीको पतनसँगै काठमाडौं सारा विश्वका लागि खोलियो। सन् १९५० बाट पश्चिमाहरूको गन्तव्य बन्न थालेको काठमाडौंले सन् ६० को दशकतिर नौला अनुहारहरू देख्यो। अमेरिकाको भियतनाममाथिको आक्रमण र पूँजीवादी उपभोक्तावादले दिक्क भएका प्रतिसंस्कृति (काउन्टर-कल्चर) एवं प्रतिरोधी युवा जमात, जसलाई बिट र हिप्पी भनिन थालियो, काठमाडौं ओइरिन थाले।

परम्परावादी र प्राचीन नगरीमा त्यस जमातको आगमनले नराम्रो हलचल ल्याइदियो। भजन गुन्जिने डबलीछेउ चर्को म्युजिक घन्किन थाल्यो। गल्ली र चोकहरू रक-एन्ड-रोल, जाँज र ब्लूज म्युजिकले गुञ्जायमान हुन थाले। नयाँ नयाँ पहिरन देखिन थाले, खानामा नयाँ नयाँ परिकार थपिन थाले।

सन् १९६० को दशकमा बेलायती स्वयंसेवी ‘भीएसओ’ (भोलन्टरी सर्भिस ओभरसिज) भएर काठमाडौं आएका बेलायती मूलका भारतीय लेखक चाल्र्स एलेन काठमाडौंका युवाहरूको आधुनिकतातर्फको हुटहुटी देख्दा चकित पर्थे। काठमाडौंको आधुनिकतातर्फको यात्राबारे कुरा गर्दै उनले यस पंक्तिकारलाई भनेका थिए, “म आएको बखत तिम्रो काठमाडौं एकै फड्कोमा सत्रौं शताब्दीबाट बीसौं शताब्दीतिर लम्कँदै थियो।”

एलेनले देखेको काठमाडौंले त्यस उप्रान्त अर्को आधा शताब्दीको यात्रा तय गरिसकेको छ। सन् ९० को दशकको उदारवादी लोकतन्त्रको लहर, उपभोक्तावाद र विश्वव्यापीकरणले अहिले काठमाडौंलाई सिनेमा, सङ्गीत, फेशन, खानपिन, खेलकूद र प्रविधिमा विश्वका अन्य शहरहरूसँग जोडिसकेको छ। यसबीच आधुनिकता र विकासका कुरा सुन्न विदेशीलाई पर्खिरहनुनपर्ने भएको छ, नेपालीहरू स्वयं विदेश जाने अनि ज्ञान र सीप लिएर फर्किने क्रम बढ्दो छ।


Last Updated on: December 13th, 2022 at 4:55 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया