
घरबेटी सरस्वती छुटिन्, रुपालाई पक्रेर हदैसम्मको कारबाही गर्न माग !
June 23, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मुध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रिहा गरेको हो ।
घरबेटी र भाडामा बस्न खोज्नेबीच करारनामा नै नभएको,युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जातीय विभेद गरेको भन्ने कानुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मुध्दा नचल्ने राय दिएको हो ।
यता यस्तै खालका कानुनमा दखल राख्ने अधिवक्ता तथा सञ्चारकर्मी अमृत खरेलले प्रधानमाथि लगाइएको आरोप निराधार भएको त्यहि दिन बताएका थिए । सामाजिक सञ्जालमार्फत् खरेलले लेखेका थिए ‘भाडामा कोठा माग्नु भाडासम्बन्धी करारको प्रस्ताव मात्र हो । प्रस्ताव मानेर कोठा दिइसकेपछि जातका आधारमा हटाउन खोजेको भए जातीय भेदभाव हुन्छ,त्यसमा मुद्दा चलाउनुपर्ने हुन्छ ।
तर कसैको प्रस्ताव नस्वीकारेकोमा जबर्जस्ती बहालको करार गरेन भनेर मुद्दा दर्ता गरिनु नै उग्रवादी सोच हो । फ्रिडम अफ कन्ट्रयाक्ट विपरीतको कार्य हो । यो सामाजिक सद्भाव भड्काउने सोच भएकाले यस्तो काम सह्य हुँदैन ।’
यता,प्रधानको परिवार,स्थानीय टोलवासी र विभिन्न संघ संस्थाले आज बिहान सरकारी वकिलको कार्यालय,बबरमहलअघिल्तिर सरस्वतीको रिहाई र समाजमा जातीय सद्भाव खल्बल्याउन खोजेको आरोपमा उनै रुपालाई पक्रेर हदैसम्मको कारबाही होस् भन्दै बिरोध प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा सेभ द भ्याली, नेवा:दबु,यल समाजलगायतको सहभागिता थियो । यसैबीच गैरकानुनी रुपमा घरधनीलाई पक्राउ गरेको बिरोधमा नेवाः देय दबू जिल्ला समिति काठमाडौंले विज्ञप्तिसमेत प्रकाशित गरेको थियो । विज्ञप्तिमा सदियौंदेखि कायम रहेको नेपाली सामाजिक सद्भावलाई बिथोल्न रुपाले गरेको सुनियोजित क्रियाकलापलाई खेदजनक भनिएको छ ।