शनिबार २३ मंसिर २०८०

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति बेथा लागेपछि पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाडो निकालिएको हेलम्बुबाट तारा शिवभक्तिले जानकारी दिए ।

पाडो भैँसीको पेटमै मरेको पाइएपछि निकालिएको उनले बताए ।
​‘हिजो बेलुका ७ बजेदेखि भैँसीलाई बेथा लागेको थियो । पाडो आफै निस्कन नसकेपछि राती साढे ११ बजे पशु स्वास्थ्य प्राविधिकलाई बोलाएँ । साढे १२ बजेतिर पाडो निकालियो । पाडो मरिसकेको रहेछ,’ शिवभक्तिले भने ।

हेलम्बुका पशुस्वास्थ्य प्राविधिक गुणराज गजुरेलले पाडो निकालिदिएको शिवभक्तिले जानकारी दिए । भैँसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनको भनाइ छ । उनले भने–‘भैसीको स्वास्थ्य ठीकै छ,घाँस खोले खाइरहेको छ । सुत्केरी भएको भएर होला अलि गाह्रो मानिरहेको जस्तो देखिन्छ ।

गजुरेल सरले औषधी दिन्छु भन्नुभएको छ । बिहान पनि औषधी दिएर जानुभयो । अहिलेसम्म पनि भैसीको साल नझरेकोले फेरी मैले उहाँलाई फोन गरेर बोलाएको छु ।’ पाडो खेर गएपनि भैसीलाई केही नहुने आशा लिएको शिवभक्तिले सुनाए ।

हेलम्बु गाउँपालिका वडा नं ६ ओडारेका तारा शिवभक्तिको घर गोठ खेत गत असार १ गतेदेखि आएको मेलम्ची नदीको भीषण बाढीको चपेटामा परेको थियो । असार २ गते दिउँसो बाढीले उनका दुई भैँसी बगाएको थियो । झन्डै २२ किलोमिटर बगेर काभ्रेपलाञ्चोकको सिमाना छेउ पुगेको एउटा भैँसीलाई फड्केश्वर भन्ने स्थानबाट जिवितै उद्धार गरिएको थियो ।

दर्जनौँ मानिस बेपत्ता पारेको,सयौं घर खेती बगाएर तहसनहस पारेको बाढीको भंगालोमा परेको भैँसी २२ किलोमिटर बगाउँदा पनि जीवितै भेटिएपछि स्थानीयले आश्चर्य मानेका थिए ।


Last Updated on: June 24th, 2021 at 11:46 pm
९२० पटक हेरिएको

तपाईको प्रतिक्रिया