
अचानक हेर्दा हेर्दै घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेर पुरै बस्तीनै बग्न थालेपछी …….
June 25, 2021 32
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ। भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने हो कि भन्ने डरले सुरक्षित ठाउँमा गए । स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँजा फाटेको छ । विपत्तीका कारण घर छोडेर हिडेका केही फर्किएपनि अधिकांस प्राविधिक पक्षको सुझावका आधारमा घरमा फर्किने स्थानीय तहका जनप्रतिनिधिको भनाई छ।
ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षती हुने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिको पहलमा राहत वितरण गरी जोखिममा रहेका १९ घर परिवारलाई स्थानान्तरण गरियो ।गएको असार १ गतेदेखि लगातार भइरहेको अविरल वर्षातका कारण मालिका गाउँपालिका-२, बेली र खवाङ गाउँका बासिन्दा विस्थापित छन् । दुबै गाउँबाट करिब ३० घरपरिवारले बासस्थान छोडेर आफन्त,छिमेकी र सार्वजनिकस्थलमा आश्रय लिन बाध्य भएको मालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले बताए।
‘बस्तीमा घरको आँगन, कोठा–कोठा चिरा परेको छ, पहिरोको मुखैमा रहेका घरधुरीले रात कटाउन सुरक्षित स्थानमा लगेका छौ, विस्थापितको संख्या बर्खाभरी बढ्ने देखिन्छ’ अध्यक्ष पुनले भने । भारी वर्षाले जिल्लामा प्रमुख, सहायक र गाउँका कच्ची सडक ठाउँठाउँमा बगाएका कारण सवारी आवागमन ठप्प भएको छ । विस्थापितको अवस्था हाल समान्य भएपनि लामो समयसम्म घरबास छोडेर हिड्नुपरेमा आवश्यक ब्यवस्था गनुपर्ने देखिएको छ । पहिरोले सबैभन्दा जोखिममा रहेको बस्तीका बासिन्दालाई जोखिम नमोल्न समेत स्थानीयबासीलाई जनप्रतिनिधिले घरदैलोमै पुगेर अनुरोध गर्ने गरेका छन् । बाढीपहिरोले असर गरेको क्षेत्रमा खेतीयोग्य जमीनहरु समेत बगेको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीपहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ। चारजना घाईते भएकोमा दुई महिलालाई हेलिकप्टरबाट उद्धार र एकलाई सडकमार्ग हुदै थप उपचारका लागि पोखरा पठाइएको छ । जिल्लाभर १ सय ११ घरधुरीका ४ सय ३६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा देखिएपनि जिल्लाभर करिब डेढ सयको हाराहारीमा रहेको स्थानीय तहले उपलब्ध गराएको बिबरणमा देखिन्छ ।
जिल्लामा बेनी नगरपालिका ५० घर, मालिका गाउँपालिका ३२, धवलागिरी २०, अन्नपूर्ण ३५, रघुगंगा २५, र मंगला २१ घर परिवार सानो–ठुलो पहिरोबाट तत्काल घरमा बस्न नसकिने अवस्थाका कारण विस्थापित भएको बताइएपनि जिल्ला प्रशसन कार्यालयमा ७९ घरपरिवारका ३ सय २२ जना विस्थापित भएको तथ्याङ्क उपलब्ध भएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए। ‘स्थानीय तहबाट क्षतीको वितरण आउने क्रम जारी छ,‘राहत साम्रागीका लागि समेत समन्वय भइरहेको छ’ सहायक प्रजिअ पौडेलले भने । बाढीपहिरोले विद्यालय भवन, सामुदायिक संघसंस्था, ग्रामिण सडक, लघु जलविद्युतमा समेत क्षती पुगेको छ ।
जिल्लाको कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ । यता बाढीपहिरोको जोखिममा रहेकालाई स्थानीय तहले ‘इमर्जेन्सी सेल्टर’ का साथै राहतको अभियानलाई समेत तिब्रता दिएको छ। बेनी नगरपालिकाले तत्काल राहत स्वरुप १५ हजार र थप आवश्यकता अनुसार सहयोग गर्ने जनाएको छ। यता गाउँपालिकाले आपतकालिन उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।
भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारणले बर्षेनी म्याग्दीमा बाढीपहिरोले वितण्डा मच्चाउने गरेको छ ।जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको तथ्याङ्क छ।