बिहिबार १९ माघ २०७९

पर्वत – पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्‍याउन कठिनाइ हुँदै आएको थियो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्‍याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । रु १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ । नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । यसबाट मोदीका आठवटै वडाका नागरिक लाभान्वित हुने छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा हुने दुर्घटनाका घाइतेलाई पनि तत्काल उद्धार गर्न मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन् । यसअघि जलजला गाउँपालिकाले पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

बैतडी :

बैतडीको पाटन नगरपालिका ६ स्थित सुकेलीमा रहेको भुमिराज मन्दिर र भगवती मन्दिरमा विद्युत मिटर जडान गरेको ५ वर्ष भयो। पोल गाडियो र मिटर समेत जडान गरियो तर बिजुली भने पुगेन।

 

विद्युत वितरण केन्द्रले केही समयमा विद्युत पुगिहाल्ने आश्वासन दिएपछि २०७४ सालमै मिटरबक्स ल्याएर जडान गरिएको भुमिराज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण सिंह बिष्टले जानकारी दिए। ‘पोलहरु गाडेर ठिक्क पारिएको अवस्थामा केही समयमा विद्युत पुगिहाल्छ भनेर मिटर जडान गरियो, तर पाँच वर्षभन्दा बढी भइसक्यो, बिजुली बलेन,’ उनले भने।

विद्युत जडान नभए पनि विद्युत वितरण केन्द्र पाटनले भने महसुल लिने गरेको छ। मिटर जडान भएदेखि नै महशुल लाग्ने भन्दै माग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए।

२०७४ सालदेखि पटक पटक विद्युत जडानका लागि लिखित तथा मौखिक रुपमा विद्युत वितरण केन्द्रलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ। ‘विद्युत जडान गर्न पटकपटक निवेदन दिइयो, कुनै सुनुवाई भएन,’ अर्का स्थानीय नमराज बिष्टले भने।

मन्दिरमा मात्रै होइन पाटन ६ कै सुकेलीमा रहेको दलित बस्तीमा बिजुली पुगेको छैन। स्थानीले घरमा वाईरिङ गरेको एक वर्षभन्दा बढी भइसकेको छ। घरअगाडि पोल गाडिएको र घरमा वाइरिङ समेत गरेको लक्ष्मण लुहारले बताए। बेलाबेला वितरण केन्द्रसमक्ष आग्रह गर्दा कुनै सुनुवाई नभएको लुहारले सुनाए। ‘घरनजिकैका टोलहरुमा झलमल्ल बिजुली बलिरहन्छ, हामी अन्धकारमा छौं।’ विजुली केही दिनमा पुग्ने आश्वासन दिएपछि गतवर्ष वाइरिङ गरेको उनले बताए।

नमुना सहरको रुपमा रहेको पाटन बजार छेउमै रहेको दलित बस्ती अन्धाकारमा बस्न बाध्य छ। अन्धकारमा बस्न बाध्य अर्का स्थानीय मदन लुहारले सुनाए, ‘घर नजिकैका बजार क्षेत्रमा करोडौँका योजनाहरु भइरहेका छन् भन्ने सुनिन्छ, हामीले भने विजुली बाल्न पाइरहेका छैनौँ, विद्युत जडानको माग गर्दा पनि आनाकानी गर्छनु।’

तार लगयतका केही उपकरणको अभावमा विद्युत जडान गर्न नसकिएको वितरण केन्द्र बैतडीले जनाएको छ। विद्युत पूर्णरुपमा नपुगिकनै घरमा वाइरिङ र मिटर जडान गर्न नहुने उनले बताए। तर वितरण केन्द्रले नै मिटर दिइसकेको थियो।

बैतडीको पाटन नगरपालिकामा झण्डै ९० प्रतिशत घरहरुमा बिजुली पुगिसकेको नगरपालिकाले जनाएको छ। केही टोलहरुमा नपुगेको र पूर्ण विद्युतीकरणका लागि माथिल्लो निकायसँग पहल भइरहेको पाटन नगरपालिकाले जनाएको छ। ‘विद्युत नपुगेक टोलहरुमा लाइन बिस्तारका लागि विद्युत वितरण केन्द्र बैतडी, क्षेत्रीय कार्यालय अत्तरीया र प्रदेश तथा संघीय सरकारसँग समन्वय भइरहेको छ,’ उपप्रमुख कमल बोहराले बताए।

तत्कालीन समयमा विद्युतका पोलहरु गाडिएको भए पनि विद्युत जडान गर्न नसकिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताए। ‘विविध कारणले विद्युत जडान हुन सकेन, अब प्रक्रिया अघि बढाउछौँ,’ उनले भने। यसै वर्षभित्र विद्युत पुग्ने गरी काम अघि बढाउने उनले बताए।

विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि ढिलाइ हुने गरेको छ। बैतडीमा करिब ३८ प्रतिशत घर धुरीमा मात्रै बिजुली पुगेको छ। विद्युत वितरण केन्द्रका अनुसार बैतडीमा १९ हजार घरधुरीमा मात्रै बिजुली पुगेको छ। ५०,४७२ घरधुरी रहेको बैतडीमा १९,१९२ घरधुरीमा मात्रै विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीले जनाएको छ। यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो।

जिल्लालाई पूर्ण विद्युतीकरणको लागि चार ठाउँमा सबस्टेसनको कामलाई अघि बढाएको वितरण केन्द्र बैतडीका प्रमुख भट्टले बताए। जिल्लाको पाटन नगरपालिका र मेलौली नगरपालिका तथा दोगडाकेदार र सुर्नया गाउँपालिकामा सबस्टेसनको काम अघि बढेको प्रमुख भट्टले बताए। पाटन र मेलौलीमा बन्ने भनिएको सबस्टेसनको लागि ठेक्का म्याद दोश्रो पटक थपिएको छ भने सुर्नया र दोगडाकेदार गाउँपालिकामा बन्ने भनिएको सबस्टेसनको लागि पहिलो ठेक्का सम्झौता भइसकेको छ।


Last Updated on: January 13th, 2023 at 12:41 pm
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया