आइतबार ०७ आश्विन २०८०

प्रधानको घरमा ५ बर्ष बसेका टेलिभिजन सम्पादक भन्छन् उहाँबाट जातिय विभेद म कल्पना गर्न सक्दिन
June 26, 2021 27
काठमाडौं । सञ्चारकर्मी रूपा सुनार प्रकरणपछि घरबेटी सरस्वती प्रधानलाई भिलेनका रुपमा देखाउन खोजिएको छ ।तर सुनार र प्रधानबीच भएको कुराकानीमा पनि जातीय विभेदको कुरा आएको छैन ।उहाँले आफ्ना लागि कुनै समस्या नरहेको भए पनि घरमा हुनु भएकी सासुआमाका कारण समस्या उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।

यो बीचमा करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेका एक व्यक्तिले आफ्नो अनुभव साझा गरेका छन् ।आफ्नो अनुभवका आधारमा पत्रकार अजय साह शिवालीले प्रधानमाथि लागेको जातीय विभेदको आरोपलाई इन्कार गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सगरमाथा टेलिभिजनकर्मी एवं अहिले अप्पन टिभीका सम्पादक रहनु भएका उहाँले एक लामो स्टाटस राख्दै यस्तो बताउनु भएको हो । उहाँले लेख्नु भएको फेसबुक स्टाटस यस्तो रहेको छ :

**करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवका आधारमा भन्छु, उहाँले जातीय विभेद गरेको मेरो मनले मान्दैन ।**
दुई दशकभन्दा बढी समयको काठमाडौं बसाइँका क्रममा विविध कारणले कोठा सर्ने क्रम चलि नै रह्यो । यस अवधिमा मैले ८ पटकसम्म कोठा परिवर्तन गरेँ। यसैक्रममा २०६८ तिर कोठा खोज्न म बबरमहलतिर पुगेँ ।

कार्यथलो सगरमाथा टेलिभिजनको १–२ किलोमिटरको रेडियसमा कोठा खोज्ने अभियान थालियो । कोठा खोज्दै जाँदा सरस्वती प्रधानको घरमा पुगेँ । मिजासिलो स्वभावकी उहाँले मेरो जात र धर्म सोध्नु नै भएन, सहजै कोठा भाडामा दिनुभयो।

पाँच वर्षको बसाइँका क्रममा मैले सरस्वती प्रधान र उहाँको परिवारबाट कहिल्यै कुनै समस्या भोग्नुपरेन, न त कुनै विभेदको आभाष भयो । बरु कुनै समस्या पर्दा प्रधान परिवारले भरथेग सहयोग नै गर्दथ्यो । अझ हुर्किदै गरेको मेरो छोरोको हेरविचारमा प्रधान परिवारको योगदान अतुलनीय र अविष्मरणीय छ ।

अब मुख्य कुरा, नेपालमा दलित जातिसँग मात्र होइन मुस्लिमसँग पनि छुवाछूत हुने गरेको छ । यद्यपि, अहिले दलित र मुस्लिमसँग हुने छुवाछूत व्यापक न्यूनीकरणतर्फ छ ।

यो कुरा सबैले महसुस गरेकै हुुनुपर्छ । सानो छँदा त ‘दलित र मुस्लिमले छोएको नखानू’ सम्मका कुरा सुन्थेँ । यहाँ मुस्लिमको प्रसंग किन ल्याएको हो भन्दा सरस्वती प्रधानको घरको तल्लो फ्ल्याटमा तीन कोठामध्ये दुई वटा मैले लिएको थिएँ भने एउटा कोठा मुस्लिम समुदायका व्यक्तिलाई दिइएको थियो ।

तर, त्यहाँ बसुञ्जेल अर्को धर्मका व्यक्तिसँग कुनै किसिमको भेदभाव वा छुवाछूत व्यवहार नगरेकी सरस्वती प्रधानले आफ्नै धर्मकी रूपा सुनारलाई जातकै आधारमा कोठा नदिएको कुरा मेरो मनले मान्दैन ।

सार्वजनिक भएको अडियो सुन्दा रूपा सुनारलाई कोठा दिने कुरा सरस्वती प्रधानकी बुढीआमालाई मन नपरेको बुझियो । अब एउटी बुढीआमा अर्थात पुरानो पुस्तालाई ‘छुवाछूत व्यवहार नगर’ भनेर ज्ञान दिने आँट नेपालको संविधान, कानुन, समाज र परिवारसँग छ ?

धेरै टाढा जानु परेन, हामीले आ–आफ्नै परिवारका पुरानो पुस्ताका सदस्यहरूको मान्यतालाई एकपटक स्मरण गरौं त ! उनीहरूको सोच कस्तो थियो/छ ?

के उनीहरूले वर्षौदेखिको जातीय विभेदयुक्त मान्यताहरू पूर्ण रूपमा छाडि सके ? त्यसैले, जातीय विभेद पुस्तान्तरणसँगै न्यूनीकरण हुने हो, रातारात होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ । सकारात्मक कुरा के छ भने नयाँ पुस्तामा यस्तो सोच छैन, हुनु हुँदैन । यसलाई नै पहिलो र महत्वपूर्ण उपलब्धि मानेर समयसँगै हिडौं । ??


Last Updated on: June 26th, 2021 at 3:15 pm
८१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया