
उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार, वे श्या वृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ।
सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्। आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।
तर उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन्। एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरे अनुसार दुई जनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू गिरफ्तारीमा परेका थिए।
मृत्युको घटनाले छेडेको विरोध प्रदर्शन
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलियो जसलाई इरानी शासकले “दङ्गा”को सङ्ज्ञा दिएको थियो। महिलाहरूले हिजाब वा कपडाले कपाल ढाक्नुपर्ने नियम उल्लङ्घन गरेको आरोपमा उनलाई तेहरानमा पक्राउ गरिएको थियो।
२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई “भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको” अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।
गिरफ्तारीअघि पेसाले आफूलाई ‘फ्यासन डिजाइनर’ बताउने हकीकीको पारिवारिक घरमा छापा मारिएको थियो। उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि दुवैले कति-कति वर्ष सजाय भोग्नु पर्छ भन्ने कुरा स्पष्ट छैन। उनीहरूलाई सबै अभियोगका लागि संयुक्त रूपमा कुल साढे १० वर्षको सजाय सुनाइएको हो।
फैसला कायमै रहे हालसम्म घोषणा गरिएकामध्ये सबैभन्दा लामो अवधिको सजाय भोग्नेमा उनीहरू पर्ने छन्। विवरणहरूका अनुसार उनीहरू सामाजिक सञ्जाल चलाउन र दुई वर्षसम्म देश छाड्न समेत प्रतिबन्धित छन्।
राज्यका लागि ठूलो चुनौती
गत सेप्टेम्बरयता इरानमा जारी विरोध प्रदर्शनलाई सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानी शासन सत्तामा आए यताकै गम्भीर चुनौतीको रूपमा हेरिएको छ। आन्दोलनलाई दबाउन राज्यले गत डिसेम्बरदेखि यस महिनाको सुरुवातसम्ममा कम्तीमा चार जना प्रदर्शनकारीलाई मृत्युदण्डसहित कडा सजाय दिइसकेको छ।
महसा अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ। लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन्। बीबीसी न्यूज
महेन्द्रनगर (दोधारा चाँदनी) –
कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।
भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।
“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।
“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।
त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।
“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।
अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”
ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”
दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।
“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”
उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।
बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।
यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।
सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।
“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”
यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।
यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।
भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”