
टङ्कीसिनवारी-इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ । सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो ।
विसं २०७३ सालमा उहाँहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिनुभयो । वार्षिकोत्सवका सहभागी सबैले उहाँहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।
वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिनुभयो । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पु¥याइदिनुभयो । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उहाँहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।
इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थाल्नुभएको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उहाँहरुले यसका लागि कम्पनी दर्ता गर्नुभयो र सेलरोटी पकाउँदै बिक्री गर्न थाल्नुभयो ।
उहाँहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आउनुभएको छ । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लैजानु भयो । हाल उहाँको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।
हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उहाँहरुले स्टल राख्नुभएको छ । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।
एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आउनुभएको छ । एउटा सेलरोटीलाई रू ३० मा बिक्री गर्नुहुन्छ । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउनुहुन्छ ।
उहाँले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताउनुभयो र गरेको बताउनुहुन्छ । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताउनुभयो । मिश्रका अनुसार उहाँहरुले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।
सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उहाँको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताउनुभयो ।
महेन्द्रनगर (दोधारा चाँदनी) –
कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।
भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।
“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।
“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।
त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।
“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।
अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”
ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”
दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।
“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”
उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।
बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।
यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।
सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।
“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”
यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।
यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।
भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”