बिहिबार ०९ चैत्र २०७९

टर्की, २४ माघ-टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्।

भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।

‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भने, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ। हामी निरन्तर सम्पर्कमा छौँ’ विद्यार्थीमध्ये एक छात्र हुन्।

त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उनले बताए।

एनआरएनएको सम्पर्कमा आएका ती ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन्। ‘अघि बिहान पनि मसँग कुरा भएको थियो। उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उनले भने। सेल्टरमा रहेकाहरुलाई खाना लगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ। उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ। रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन्।

महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन्।

‘यहाँ प्रत्येक नगरपालिकमा पनि ‘रेस्क्यू टीम’ बनाइएको हुन्छ। भूकम्पले क्षत्ति पुर्‍याइएको ठाउँहरूमा अन्य नगरपालिकाले आफ्नो टीम परिचालन गरेर उद्धार र राहत वितरणको काम गरिरहेको छ। अन्य नगरपालिकाहरुले लत्ता–कपडा, खानाहरू पठाएको छ,’ उनले भने।

टर्कीमा अहिले झण्डै २ हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ। इस्तानबुल, अकांरा, इज्मिर, अन्टालिया, बोर्डुमलगायतका शहरमा नेपालीहरु बढी छन्। भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ। कोभिड महामारीअघि टर्कीमा नेपालीको संख्या ४ हजारभन्दा बढी थियो। तर, महामारीका कारण श्रम बजार बिग्रिएपछि टर्कीमा नेपालीको संख्या आधा घटेको महासचिव पौडेलको भनाइ छ। कोभिडले रोजगारी गुमाएपछि कतिपय नेपाली स्वदेश फर्किएका थिए भने केही त्यतैबाट युरोपतिर हानिएका थिए।

भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरुको सम्पर्कमा आउने एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ। ‘सामाजिक सञ्जालमार्फत समन्वय गरिरहेका छौँ। अहिलेसम्म नेपालीलाई त्यस्तो दु:खद घटना भएको भन्ने जानकारी आएको छैन। अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने। भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने महासचिव पौडेलको भनाइ छ।

‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ। हामी तयारी अवस्थामा छौं,’ उनले भने। अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन्। ‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ। गाडीहरु चल्न गाह्रो छ। सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ। हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ। सोमबार गएको भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

महेन्द्रनगर (दोधारा चाँदनी) –

कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।

भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।

“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।

“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।

त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।

“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।

अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”

ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”

दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।

“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”

उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।

बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।

यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।

सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।

“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”

यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।

यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।

भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”


Last Updated on: February 7th, 2023 at 3:30 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया