
हाम्रो अनुहार तथा छालामा पिग्मेन्ट उत्पादन गर्ने कोषको मात्रा बढी भएर कोठी आउने गर्छ । कोठी आउनुमा एउटा मात्र कारण छैन । कतिलाई वंशाणुगत रुपमा आउन सक्छ भने कतिलाई घामको प्रभावबाट पनि ।
घाममा धेरै हिंड्ने व्यक्तिको छालामा पनि कोठी आउन सक्छ ।
कोठी के हो ?
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।
हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंग बनाउने कोषले पाँचदेखि आठवटासम्म साधारण छालाको कोषलाई रंग दिन्छ । कुनै–कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।
यो कति प्रकारका हुन्छन् ?
कोठीहरु धेरै प्रकारका हुन्छ । समान्यतया वंशाणुगत कोठी, कुनै पछि मात्र आउने कोठी हुन्छ, कुनै माथिल्लो सतहमा देखिने कोठी कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ । कुनै युवावस्थामा घाँटीको वरिपरि र छातीको माथिल्लो भागमा देखिने कोठी हुन्छ, जुन युवकहरुमा बढी देखिन्छ ।
त्यस्तै रातो कोठी हुन्छ जुन उमेर ढल्केपछि शरीर तथा अनुहारमा देखिन थाल्छ । शरीरमा आउने कोठी एउटै हुन्छन् ।
कोठी कुनै समस्या हो ?
कोठी पनि एक प्रकारको समस्या हो । धेरै कोठी आएको छ, ठूलो–ठूलो कोठी छ, जन्मेदेखि आएको कोठी छ भने त्यो पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । त्यसको लागि जाँच गराउनुपर्छ । कोठी जति गाढा र ठूलो हुन्छ त्यति नै बढी क्यान्सर हुने सम्भावना हुन्छ ।
यसको उपचार के हो ?
धेरै कोठी भएको वा आएको खण्डमा सावधानी अपनाउनुपर्छ । जस्तै, घाममा धेरै हिंड्नु भएन । एसबीएफ ५० वा त्योभन्दा माथिको सन्सक्रिन नियमित रुपमा लगाउनुपर्ने हुन्छ । कोठीमा चिलाउने, ठूलो भएर आउने, दुख्न थाल्ने लक्षण देखिए तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ । परमर्शअनुसार उपचार सुरु गरिहाल्नुपर्छ । धेरै कोठी भएका मानिसहरुले वर्षेपिच्छे कोठी विशेषज्ञ तथा छाला रोग विशेषज्ञसंग परामर्श लिइरहनुपर्छ ।
कोठीको जाँच कसरी गरिन्छ ?
डर्मस्कोप मेसिन प्रयोग गरेर कोठीको अवस्था जाँच गरिन्छ । यसले टेलिस्कोपको जसरी काम गर्छ । यसले कोठीको अवस्था कस्तो छ भनेर सहजै देखाउँछ । यसको सहयोगबाट नै कोठीको कसरी उपचार गर्ने निष्कर्षमा पुगेको हुन्छ ।
कोठी आउन नदिन केही उपाय छ ?
वंशाणुगत तथा जन्मजात भएको कोठीलाई त हामी रोक्न सक्दैनौं । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने सन्सक्रिन लगाउने र समय–समयमा चेक गराउनुपर्छ । उपचारको क्रममा डर्मस्कोप मेसिनले हेरेर त्यो कोठी कसरी कुन तरिकाले निकाल्न मिल्छ त्यसले निर्धारण गर्छ ।
गाढा छ, रौंहरु आएको छ भने त्यसलाई काटेर सिलाउनु नै राम्रो हुन्छ । शंकास्पद कोठीलाई बायोस्पी पठाउनुपर्ने हुन्छ । एकदम ठूलो कोठीलाई चाहिं प्लास्टिक सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ । क्यान्सर भएपछि फैलिएपछि चाहिं त्यो अरु ठाउँमा पनि फैलिने हुन्छ ।
(डा. भट्टराई छाला तथा यौनरोग विशेषज्ञ हुन् ।)
१५ फागुन, काठमाडौं । सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिए । करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा थिए, व्यवसायी ठाकुरप्रसाद अधिकारी । उनी दरबारमार्गमा रहेको कपडा पसलको सटर बन्द गरेर आन्दोलनमा आएका थिए । दरबारमार्ग परिक्रमा गरिरहेको आन्दोलनको भीडमा अधिकारी उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ देऊ, पार्किङ नदिए राजिनामा देऊ ।’
अधिकारीकाअनुसार महानगरले पार्किङ हटाएपछि पसलको व्यापार चौपट भएको छ । दरबारमार्ग क्षेत्रमा पार्किङ छैन भन्दै ग्राहक नै नआएको अधिकारीले बताए । पार्किङ अभावमा उनी र छिमेकीका व्यवसाय ६० प्रतिशतले घटेको अधिकारी बताउँछन् । उनी सहभागी विरोध र्यालीमा अगाडि रहेकाहरुले सिट्टी फुक्दै भन्छन्, ‘मेयर साप, पार्किङ नदिए राजिनामा देऊ ।’ अधिकारी ‘हो–हो’ भन्दै ताली पिट्छन् ।
सामान्यतय साँझ पर्नै लाग्दा दरबारमार्ग क्षेत्रमा चहलपहल बाक्लिन्छ । तर, सोमबार अपरान्ह व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर महानगरविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनमा भेटिएकाहरुको एउटै स्वर थियो ‘महानगर पार्किङ देऊ ।’
आन्दोलनमा रहेका ज्ञानेश्वर श्रेष्ठ दरबारमार्गमा ज्वेलरी पसल सञ्चालन गर्छन् । श्रेष्ठकाअनुसार १९ पुसमा महानगरले दरबारमार्ग क्षेत्रबाट एक्कसी एक लाइन पार्किङ हटाएपछि यहाँका व्यवसायीहरु निकै ठूलो संकटमा परेका छन् । केही विकल्प होलाकि भनेर कुर्दा कुर्दै हरेक दिन व्यवसाय चौपट भइरहेको उनले बताए । ‘पार्किङ हटायो भन्ने खबरले मानिस नै दरबारमार्गमा आउँदैनन् । यहाँ सुनसान भइसक्यो,’ श्रेष्ठले भने, ‘अब कसरी सहनु ? हामी भाग्नु अघिको अवस्थामा आन्दोलनमा छौं । ’
किनमेल र घुमफिरका लागि प्रख्यात रहेको दरबारमार्ग अहिले साँझ ६ बजेपछि नै सुनसान हुने गरेको उनले बताए । उनले महानगरको पार्किङ व्यवस्थित गर्ने कार्य सही भएपनि विकल्पविहीन निर्णयको विरोध गरिएको उनले बताए ।
दरबारमार्गका व्यवसायीहरु आन्दोलनको अगुवाइ गरिरहेका दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारी मेयर साहले सरसल्लाह नगरी पार्किङ हटाएको आरोप लगाउँछन् । दरबारमार्गको इतिहासमै पार्किङका लागि भनेर निर्माण गरिएको ठाउँमा महानगरले अनुचित काम गरेको उनले बताए । कुनै विकल्प नदिई गरिएको निर्णयका कारण ग्राहक दरबारमार्ग नआएको र व्यवसायी भाग्नु पर्ने अवस्था सृजना भएको अधिकारीले बताए । ‘करोडौं खर्च गरेर यस क्षेत्रमा व्यवसाय गरिरहेकाहरु ग्राहक नआउने वातावरण पछि कहाँ जाने ?,’ अधिकारी प्रश्न गर्छन्, ‘यसबारे मेयर बालेनले सोच्नु पर्छ ।’
पटक–पटक मेयरसँग यसबारे छलफलका लागि भेट्न जाँदा भेट्न अस्वीकार गरेको पनि अधिकारीले बताए । ‘हामीले लिखित रुपमा मेयरको सचिवालयलाई यसबारे जानकारी गराएका छौं । तर यलाई बेवास्ता गरियो,’ अधिकारी भन्छन्, ‘अब महानगरले बेवास्ता गरे सडकमा जबरजस्ती पार्किङ गर्छौँ ।’
दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतिले दरबारमार्गको पार्किङ हटाउने निर्णय फिर्ता हुनु पर्ने बताए । महानगरले एक पक्षीय ढंगबाट पार्किङ हटाएर अन्याय गरेको र दरबारमार्गको ऐतिहासिक महत्व नबुझको कक्षपातिको भनाइ छ । ‘पार्किङ गर्न कै लागि भनेर बनाएको ठाउँबाट सवारी साधन हटाइनु सर्वथा गलत हो’ कक्षपातिले आक्रोसित हुँदै भने, ‘दरबारमार्गको पार्किङले कसलाई असर गरेको छ ? यो कुरा मेयर बालेनले प्रष्ट्याउनु पर्छ ।’
गत १९ पुसमा ट्राफिक प्रहरीको आग्रहमा महानगर प्रहरीले दरबार मार्ग क्षेत्रको बायाँतर्फको सडकको एकतर्फी पार्किङ हटाएको थियो । पार्किङ हटेका कारण त्यस क्षेत्रमा रहेका करिब ३ सय वटा पसल कबुलमा ग्राहक नआएको व्यवसायीहरुको आरोप छ ।
दरबारमार्ग क्षेत्रमा निकै कम मात्रामा बेसमेन्ट पार्किङ रहेको भन्दै व्यवसायीहरुले ग्राहकका लागि त्यसबाट नपुग्ने बताए । दरबारमार्ग विकास बोर्डकाअनुसार अहिले हटाइको क्षेत्रमा करिब ३ हजार मोटरसाइकल र एक सय हाराहारी गाडी पार्किङ गर्न मिल्ने अवस्था थियो । पार्किङको समस्या घरबेटीको होकी महानगरको भन्ने जिज्ञासामा बोर्डका पूर्वअध्यक्ष कक्षपातिले भने, ‘व्यवसायी र कर्मचारीको पार्किङ घरबेटीको हो । तर ग्राहकको पार्किङ व्यवस्था राज्यले गर्नुपर्छ । विना विकल्प हटउन पाइन्न ।’
दरबारमार्गमा पार्किङको वैकल्पिक उपायबारे सडकको कुनै एक भाग प्रयोगबाहेक अन्य कुनै विकल्प नरहेको पनि बोर्डको दाबी छ ।
म्याग्दी – म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगाएपछि उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।
सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ ।
बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताउनुभयो । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् ।
उनले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् । रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदै भनिन् ।
माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना ।
रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको मङ्गला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।