बिहिबार ११ कार्तिक २०७८

काठमाडौं। बिहानको मन्द चिसो हावा, वृद्ध शरीर, कामेको जिउ, पातला लुगा र पुरानो चप्पलमा देखिएका एक वृद्ध बिहान करिब आठ बजेतिर पशुपतिनाथ मन्दिर परिसरमा पैसा बिक्री गर्दै थिए। एक महिलाले राम, सीता, लक्षण र हनुमानको चित्र भएको पुरानो सिक्का पाँच सय तिरेर किनिन्। वृद्ध भन्दै थिए, ‘बैनीलाई ६ सय रुपैयाँ भनेको पाँच सय दिनु भयो।’ ती महिलाले भनिन्, ‘हनुमान भएकोले किनेको, पूजा गर्नलाई।’

नेपाल र भारतका पुराना नोट र सिक्काहरु पत्रिका माथि फिजाएर बिक्री गर्न ग्राहक कुरेर बसिराखेका उनी पैसा बिक्री हुने–नहुनेसँग खासै सरोकार राख्दैनन्। तर, पैसा हेर्न र किन्न आउने मान्छेहरुलाई भने आफूसँग भएको पुराना पैसाहरुको बारेमा उत्सुकतासाथ बुझाउँछन्। उनका ग्राहक पैसा किन्ने भन्दा हेर्ने बढी हुन्छन्।

कामिरहेको वृद्ध शरीरले गरेको उक्त व्यापारबारे उनले भने, ‘मेरो हातबाट काम गर्न सक्दैन नि। मेरो दोकान छ। जयवागेश्वरीमा सुन पसल छ, चावहिलमा कपडाको पसल छ, ठमेलमा घडीको पसल छ। वृद्धभत्ता लिन धरान जान्छु। यो मैले गरेको काम होगा त होगा नही होगा त मकैको घोगा छ।’
उनका छोरा–छोरी, नाति–नातिना आ–आफ्नो व्यापार व्यवसाय गर्दै आएका छन्। उनी भने कान्छो छोरोसँग चावहिलस्थित लामपोखरीमा भाडाको घरमा बस्छन्। उनीसँग बस्ने कान्छो छोराको भने घडी पसल छ।

पैसा बिक्री गर्न बसेका ती ७२ वर्षीय वृद्धको नाम राम जलेश्वर गुप्ता हो। उनलाई आफूले बिक्री गर्न राखेको पैसा बिक्री भएपनि–नभएपनि कुनै समस्या नहुने रहेछ। उनले आफ्नो र परिवारको गुजारा चलाउनकै लागी सो व्यवसाय गरेका भने होइनन्।

बिक्री गर्न राखेको पुराना पैसा कहिले बिक्री हुने र कहिले नहुन हुन्छ। उनी भन्छन्, ‘बिक्री हुने नहुनेमा कुनै ठेगान छैन। यो बिक्री होस या नहोस मलाई भगवानले पुर्याइ राखेको छ। तर यो काम गर्न मन लाग्छ। यहाँ हरेक किसिमको मान्छे आउँछन्। म आफ्नो इच्छाले बेच्न आएको, मान्छेसँग भेट हुन्छ, गफ हुन्छ, उनीहरु पैसा हेर्छन्।’

उनले आफू अशक्त भएकाले अन्य काम गर्न नसक्ने बताए। पाँच छोरा र दुई छोरी गरी सातजना छोराछोरी भएको बताउने उनको जन्मस्थान भने धरान हो। उनी वृद्धभत्ता लिन भने धरानै पुग्ने गर्छन्। उनले उक्त व्यापार पैसाको अभाव भएर गरेको नभएर मान्छेहरुसँग भेट हुने, कुराकानी हुने भएकाले उक्त व्यापार गरेको बताए।

उनले राखेको पैसाको बिक्री दर भने, नेपालको एक रुपैयाँको नोटलाई दुई सय रुपैयाँ, दुई रुपैयाँको नोटलाई एक सय रुपैयाँ, २५ रुपैयाँको नोटलाई ६ सय रुपैयाँ, रोटे पिङ चित्र भएको एक रुपैयाँको चाँदी जस्तो देखिने सिक्काको पाँच सय रुपैयाँ, २०१३ सालको एक रुपैयाँलाई पाँच सय रुपैयाँ, हनुमानको चित्र भएको दुई सय वर्ष पहिलाको एक रुपैयाँको सिक्कालाई पाँच सय रुपैयाँ पर्छ।

उनले पुराना गान्धीको घरको चित्र कोरिएको र गान्धीको फोटो भएको पुराना भारतीय नोट र अन्य सिक्काहरु पनि राखेका थिए। उनले ती पुराना भारु १० रुपैयाँको नोट भने चार सय रुपैयाँमा बिक्री गर्छन्। उनले ती सबै पुराना पैसाहरु ठमेलबाट किनेर ल्याएको र केही पैसाहरु भने पहिल्यैदेखि आफूसँगै रहेको बताए।

बेच्न राखिएको पैसा देखाउँदै उनले भने, ‘अहिले यो पैसा पाउँदैन। यो पुरोनो २०१२ सालको चार पैसा हो। एक पैसा पनि छ। यी पैसा पहिलेदेखि नै मेरो घरमै थियो।’ त्यसैसमयमा फिजाएर राखेको पैसा हेर्ने भिडबाट एक व्यक्तिले टासिन्छ कि टासिदैन भन्दै साँचो निकालेर त्यहाँ रहेको सिक्कालाई छुवाए तर टासिएन र उनले भने, ‘ओर्जिनल पैसाले त चामललाई तानिदिन्छ। तपाईंको यि सिक्काहरु नक्कली हुन कि सक्किली ?’

त्यतिबेलै ती वृद्धले अलि ठूलो स्वरमा भने, ‘राम सीता भएको पैसा कहीँ नक्कली हुन्छ? मान्छे बरु नक्कली हुन्छ। टासिने पैसा त फलामको हुन्छ अनि टासिन्छ, यो राखेको पैसा त तामाको हो। बौद्धमा मन्त्र चलाएर पैसाले चामल, दाल तानेर देखाउँछ तर घरमा त्यही पैसा ल्याएर छुवायो भने तान्दैन। त्यो मान्छेको भ्रम हो। तानेर देखाउनु म तपाईँलाई एक करोड रुपैयाँ दिन्छु ।’

मान्छेको भिड हटेसँगै उनी एउटा पुरानो झोलामा पैसा पोको पार्दै हिड्ने तरखर गरे। त्यहाँ बसेको एक घण्टा पनि नबित्दै घरतिर लाग्दै गर्दा उनले भने, ‘म सधैं कुकुरलाई १० रुपैयाँको किनेर खिलाउँछु।’

कमाएको पैसाबाट बाटोमा बस्ने भुसिया कुकुरलाई उनी दिनकै बिस्कुट किनेर खुवाउने गर्दा रहेछन्। त्यस दिन कमाएको पाँच सय रुपैयाँबाट पनि उनी कुकुरको लागि १० रुपैयाँ खर्च गर्न तरखर गर्दै लागे।


Last Updated on: April 22nd, 2021 at 12:42 am
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया