
काठमाडौं,
बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तनहुँ तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए ।
घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिए । रासस
त्यस्तै निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।
बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ। यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए। “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने।
\ https://youtu.be/IIVSYGAZCO4
Related