
७ चैत, चितवन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा यूएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपालले विश्वकप छनौट खेलका लागि जिम्बाबेको यात्रा पक्का गर्यो ।
कीर्तिपुर खेल मैदानमा गतिलो प्याराफिट नहुँदा दर्शकहरु रुखका हाँगाविँगामा चढेर हेर्न बाध्य थिए । उनीहरुले नारा लगाए- गतिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहियो ।
प्रधानमन्त्री प्रचण्डले पनि खेलाडी, प्रशिक्षकसहितको टिमलाई बोलाएर बधाई दिँदै चितवनमा अलपत्र क्रिकेट रंगशाला निर्माणलाई सरकारले ध्यान दिने बताए ।
धुर्मुुस-सुन्तली फाउन्डेसनले तामझामका साथ चितवनको भरतपुर-१५ मा बनाउन सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेको अवस्था भने विजोक छ । बजेट अभावमा २०७८ साउन २२ गतेदेखि रंगशाला निर्माणको काम पूर्णरुपमा रोकिएको छ ।
काम रोकिँदासम्म मैदानको काम ९५ प्रतिशत पूरा भइसकेको फाउण्डेशनले जनाएको थियो तर अहिले सो मैदानमा दुबो हैन झारपात मौलाएको छ ।
कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बन्ने प्याराफिटको पहिलो चरणको काम सकिएको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । कुनै माथिसम्मपुगेका छन् भने कुनैमा सामग्री भर्न बाँकी छ ।
भीआईपी टावरको काम सुरू भएपछि फाउण्डेशनले काम रोकेको थियो । ठड्याइएका रडहरूले गत वर्षको एक बर्खा काटिसकेका छन् । खियाले रडहरू खिइदै जाँदा भविश्यमा ठूलो लगानीको पूर्वाधार नै प्राविधिक हिसाबले काम नलाग्ने हो कि भन्ने अवस्था छ ।
अब आउने बर्खा अगाडि नै गाँठो फुकाएर काम पुनः सुरु गर्न नसके थप क्षति हुने रंगशालाका प्राविधिक किशोर बर्मा बताउँछन् । ‘रडमा लागेको खिया भनेको क्यान्सर जस्तै हो, माथिल्लो भागमा लागेको खिया पिलर भित्रका रडमा समेत फैलिन्छ, अब निर्माणलाई पुनः सुरु गर्नेबारे सोचिएन भने आउने दिनमा थप समस्या हुन सक्छ,’ प्राविधिक बर्माले भने, ‘यसमा त सबैको रगत, पसिना र श्रम परेको छ, गम्भीरतापूर्वक लिइनु पर्छ ।’
उनले रडमा थप क्षति हुन नदिनका लागि ‘एन्टि रस्टिङ्ग केमिकल’को प्रयोग गर्न सकिने सुझाव दिए । ‘स्प्रे गरेर लगाउँदा काम गाह्रो त हुन्छ, तर बचाउन पर्यो नी,’ बर्मा भन्छन्, ‘देशका लागि रंगशाला चाहिने नै हो भने यसमा ढिला गर्नुपर्ने कारण के छ र ?’ उनले आफूहरु रंगशालामा गएर रडका टुक्राहरु ल्याएर चेकजाँच गर्ने क्रममा रहेको बताए ।
आर्किटेक इन्जिनियर उपेन्द्र सुवेदीले रडलाई लामो समयसम्म यत्तिकै राख्दा त्यसले भविश्यमा समस्या निम्तिने बताए । ‘धेरै जना रंगशालाको प्याराफिटमा चढेर खेल हेर्ने भएकाले लोड धेरै पिलरमा नै हुन्छ, एक-डेढ वर्षमा त खासै फरक नपर्ला तर, लामो समय यत्तिकै राख्दा पुनः प्राविधिक जाँच गर्नुपर्ने हुनसक्छ’ इन्जिनियर सुवेदीले भने, ‘राष्ट्रिय गौरवको परियोजना यसरी अलपत्र पार्नु हुँदैन ।’
फाण्उण्डेनका अध्यक्ष सिताराम कट्टेलले रंगशालाको काम अलपत्र हुँदा आफू पीडामा रहेको बताउँछन् । अहिले पनि रंगशाला कुरेर बस्ने काम आफूहरूले नै गरेको भन्दै अध्यक्ष कट्टेलले अब केही दिनमा नै आफ्ना सारा पीडाहरू राख्ने बताए । ‘नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जितोस् भन्ने हामी सबैले चाहने तर रंगशाला बनाउन किन नचाहाने ?’ कट्टेलले प्रश्न गरे, ‘जे हो त्यही कुरा जनतालाई भन्नुपर्छ, अब कहिलेसम्म यसलाई लम्बाउने ?’
सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई रंगशालाको प्राविधिक जाँच गरी प्रतिवेदन पेश गर्न भनेको छ । सो प्रतिवेदन केन्द्रले तयार गरिसके पनि हालसम्म बुझाएको छैन । स्रोतका अनुसार प्रतिवेदनमा प्राविधिक रुपमा रंगशालामा समस्या नभएको निष्कर्ष निकालिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिन अगाडि सामाजिक सञ्जालमा रंगशालाको काम अब अगाडि बढ्ने संकेत गर्दै केही दिनमा नै खुसीको खबर आउने कुरा उल्लेख गरेकी थिइन् । दाहालकै बुवा पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री भएको बेला रंगशालाको गाँठो फुकाएर थप निर्माणको काम अगाडि बढाउने भन्दै नगर प्रमुख दाहाल दौडधुप गरिरहेकी छिन् ।
नेपाल र युएई बीचको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा पुगेकी दाहाल नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान सुरक्षित गर्न सफल भएपछि उत्साहित बनेकी छन् ।
क्रिकेटको महत्व र गरिमा अझै बढी बोध भएको बताएकी दाहालले रंगशालालाई पूर्णता दिने प्रतिबद्धता पटकपटक दोर्याउँदै आएकी छन् ।
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर ।
यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् ।
जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो ।
अहिले पुन: पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए। जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो ।
तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।”
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुन: यात्रा तय गर्दछन् ।
पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् ।
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन ।
“राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन्। राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो ।
ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन्।
“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।”
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुशी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् ।
चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरि-थरिका परिकार बनाउन सिकाएको छ ।
छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन्। होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् ।
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन् ।
बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ ।