
काठमाडौं । विवाहपूर्व फोटोसुटका केही तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यसमा एक जोडीलाई हिलोले ढाकिएको देख्न सकिन्छ । दुबैले विभिन्न पोज दिएर तस्विर खिचेका छन् ।
जोडी फिलिपिन्सको ओर्मोक शहरका बासिन्दा हुन्। यी तस्विर २४ वर्षका जोन्सी गुटेरेज र इमे बोरिनागाका हुन् । दुवैको परिवार खेतीपाती गर्छन् । यस कारणले, उनीहरूले आफ्नो नयाँ जीवनको सुरुवातको लागि यो विषय रोजे। यसको पृष्ठभूमिमा हरियाली देखिन्छ।
फोटोहरू जनवरी २०२१ मा चार्लेसी भिजुअल नामको फेसबुक पेजमा पोस्ट गरिएको थियो। त्यतिबेला पनि यसको निकै चर्चा भएको थियो र अहिले फेरी एकपटक भाइरल भइरहेको छ ।
मानिसहरूले जोन्सी र इमेको तस्बिर बाँकी जोडीभन्दा फरक पाएका छन् किनभने यसमार्फत उनीहरूले प्रकृतिप्रतिको आफ्नो प्रेम देखाउने प्रयास गरेका छन्। साथै, सुटिङ एकदमै सरल राखिएको छ। इमेको परिवारको धान खेतमा फोटोसुट गराइएको थियो ।
प्रि-वेडिङ सुटिङको बारेमा सोध्दा दम्पतीले किसानको परिवारमा हुर्केकाले यो थिम रोजेको बताए । सरकारी विद्यालयमा शिक्षिका भएर काम गर्ने इमेले भन्छिन्, ‘खेतीलाई उचित प्राथमिकता दिनुपर्ने जागिरका रूपमा देखाउन खोजेको छु । हिलोमा हिड्न कत्ति गाह्रो छ भनेर मानिसहरूले देखून् भन्ने म चाहन्छु। चर्को घाममा धान रोप्दा कस्तो लाग्छ । ढाडमा दुखाइ हुन्छ । यी सबैको बाबजुद पनि किसानहरू कुनै गुनासो बिना खुसीसाथ बाँचिरहेका छन्। यो कुरा हाम्रो फोटोसुटको प्रेरणा बन्यो।’
काठमाडौं। आज शुक्रबार मतदान भइरहेको उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये दुई जना महिला उम्मेदवार नै चुनावी मैदानमा रहेका छन्।
उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका दुई घटक जनता समाजवादी र जनमत पार्टीबाट दुई जना उम्मेदवार नै चुनावी प्रतिस्पर्धामा रहेका छन्।
सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव चुनावी मैदानमा छन् यस्तै गठबन्धनकै एक घटक जनमत पार्टीबाट ममता झा समेत चुनावी मैदानमा रहेकी छिन् । एमालेबाट अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा गर्दैछिन्।
यसअघि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छिन्। यद्यपि मनोनय फिर्ताको समयावधिपछि उम्मेदवारी फिर्ता लिएकी उनको उम्मेदवारको सूचीमा नाम यथावत नै रहेको छ।
शुक्रबार बिहानबाट मतदान सुरु भइसकेको छ। बेलुकासम्म मत परिणाम सार्वजनिक हुने बताइएको छ। तथापि दुई महिला उम्मेदवार मतदानबाट बत्तिचत रहेका छन्। संघीय सांसद र प्रदेश सांसद मतदाता हुने उपराष्ट्रपतिको निर्वाचनमा दुई महिला उम्मेदवारले आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित रहेका छन्।
नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले मतदान गर्न पाउँदैनिन्। उनी संघ तथा प्रदेशतर्फ को सांसद होइनन्। त्यस्तै अर्की जनमत पार्टीकी उम्मेदवार ममता झाले समेत आफूलाई मतदान गर्न नपाउने भएकी छिन्। उनी पनि संघ तथा प्रदेश कतैको सांसद छैनन्।
दुबै महिला उम्मेदवार रहेका उनीहरु संघ तथा प्रदेशको सांसद नभएकाले आफैंले आफैलाई मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन्।
आजको उपराष्ट्रपतिको निर्वाचनकाे मतदान प्रक्रियामा सहभागी संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद र सातवटै प्रदेशसभाका सांसदहरु उपराष्ट्रपतिको निर्वाचनमा मतदाता रहने व्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन्छ।
सोही मतभार अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।
नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ । कांग्रेसले जसपाका उम्मेदवारलाई रामसहायलाई मत दिने औपचारिक निर्णय गरिसकेको छ ।
यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ । एमालेकी उम्मेदवार शाक्यलाई नै उसको मत जाने निश्चित छ। माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ । माओवादी हालसम्म कुनै उम्मेदवारको पक्षमा खुलेको छैन।
यस्तै दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। सरकारबाट फिर्ता भएपनि समर्थन कायम रहेको हुँदा रास्वपाको मत राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो।
यद्यपि उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने औपचारिक घोषणा गरेको छैन ।आन्तरिक निर्णय गरेको बताएको छ । यद्यपि रास्वपाले सार्वजनिक घोषणा गरेको छैन।
सरकारलाई दिएको समर्थन फिर्ता गर्दै बाहिरिएको राप्रपाको मत २ हजार ४५० मतभार रहेको छ । राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ रहने घोषणा गर्दै मतदान प्रक्रियामा सहभागीे नहुने निर्णय गरिसकेको छ ।
सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ । उसले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको छ। जनमत पार्टीसँग कार्यगत एकताको घोषणा समेत नागरिक उन्मुक्तिले गरेको छ ।
यस्तै जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका उम्मेदवार रहेका यादवलाई जसपाको मत स्वतः जाने नै छ। आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।
एकीकृत समाजवादीले सत्ता गठबन्धनको कुन उम्मेदवारलाई मत दिने यकिन गरिसकेको छैन ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। लोसपाले जनमत या जसपाको उम्मेदवारलाई मत दिने सार्वजनिक रुपमा यकिन गरेकाे छैन। तथापि लोसपा जनमत पार्टीसँग निकट रहेको छ । जनमत पार्टीसँग कार्यगत एकताको घोषणा गरेकाले जनमतकै उम्मेदवारलाई मत दिने निश्चितप्रायःछ।
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर ।
यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् ।
जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो ।
अहिले पुन: पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए। जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो ।
तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।”
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुन: यात्रा तय गर्दछन् ।
पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् ।
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन ।
“राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन्। राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो ।
ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन्।
“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।”
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुशी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् ।
चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरि-थरिका परिकार बनाउन सिकाएको छ ।
छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन्। होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् ।
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन् ।
बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ ।