भजनी। विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए। विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ।
विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमानस्थल । त्यतिमात्र होइन, राजनीतिक दलका नेतालाई नागरिकका अगाडि विमानस्थल मुद्दा बनेको छ। विशेषगरी निर्वाचनका समयमा विमानस्थललाई मुद्दा बनाउने गरिएको स्थानीय लक्ष्मण विक बताउँछन्।
गत आर्थिक वर्षमा विमानस्थलका लागि रु दुई करोड बजेट विनियोजन गरेको भने पनि अहिले त्यो यथार्थ नभएको तथ्य खुलेको छ। नागरिक उड्डयन प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन हुन नसक्ने बताएको छ। प्राधिकरणका इञ्जिनियर सत्यराम दुवालले टीकापुर विमानस्थलका नाममा अहिलेसम्म कुनै बजेट विनियोजन नभएको बताए।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एकाएक डोजर विमानस्थलमा देखिएपछि त्यसको विरोधसमेत भएको थियो। “टीकापुर विमानस्थलका लागि भनेर कुनै बजेट थिएन, देशभरका विमानस्थलको मर्मत सम्भारका लागि बजेट थियो, त्यसमध्ये केही बजेट विमानस्थलमा खर्च भएको थियो”, इञ्जिनियर दुवाल भन्छन्, “कसैले विमानस्थलका सञ्चालनका लागि शीर्षकमै बजेट विनियोजन गरेको भन्ने भ्रम सिर्जना गरेको भए त्यो गलत थियो।”
उनले विमानस्थलको ग्राभेलको काम र भवन रङ्गरोगनका लागि रु एक लाख खर्च भएको बताए। उनका अनुसार चालू आवमा पनि विमानस्थलका लागि कुनै बजेट छैन। “एकमुष्ट विमानस्थलको मर्मतसम्भारका लागि बजेट छ, त्यसमा टीकापुर विमानस्थल पनि परेको होला, नभए विमानस्थलका लागि छुट्टै बजेट छैन”, उनले भने, “बाहिर आउने कुराको विषयमा हामीलाई कुनै कुरा थाहा भएन।”
अतिक्रमणमा परेको विमानस्थल खाली भएपछि त्यसको मर्मतसम्भार गरेर नागरिक उड्डयन प्राधिकरणका पुर्व वरिष्ठ अधिकृत योगेन्द्रराज शर्माले सानो जहाज परीक्षण गराएका थिए। त्यो नै टीकापुर विमानस्थलका लागि अन्तिम जहाज अवतरण भयो । अब यो क्षेत्रमा विमान अवतरण हुने सम्भावना निकै कम भएको वरिष्ठ अधिकृत शर्मा बताउँछन्।
“उसो त टीकापुरमै विमानस्थल सञ्चालन हुनेमा निकै कम सम्भावना छ, त्यसमा पनि अहिलेको स्थानमा विमानस्थल सञ्चालन हुने सम्भावना नै छैन”, शर्माले भने, “जुन खड्ग स्मृति रङ्गशालाको जग्गालाई विमानस्थल बनाउने कुरा छ, त्यहाँ सम्भावना छ।” उनले विमानस्थल सञ्चालनका लागि टीकापुरको स्थानीय सरकार, राजनीतिक दल, नागरिक अगुवाले साझा धारणाका साथ प्रस्तुत हुनुपर्ने बताए।
“एउटा आउँछ, विमानस्थल यस्तो चाहियो भन्छ, अर्को आउँछ उसले पुरानो ठाउँमा विमानस्थल सार्नुपर्ने भन्छ, आपसमै कुरा मिल्दैन भने कसरी विमानस्थल बन्छ”, उनी भन्छन्, “सबैको समान धारणा बनाएर प्रस्तावित ठाउँमा विमानस्थल सञ्चालनका लागि दबाब दिन सकेपछि मात्रै सम्भावना देखिन्छ।”
विसं २०७४ को स्थानीय तहको निर्वाचनपछि विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पनि धेरैपटक सङ्घ सरकारसँग आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु बताउँछन्। “विमानस्थल सञ्चालन हुनुपर्छ भनेर पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छौँ, सरकारले पनि सकारात्मक प्रतिक्रिया दिएको हुन्छ”, नगर प्रमुख थारुले भने, “हामीलाई भन्दा एक कार्यान्वयन गर्दा अर्को गरेको हो भने त्यो गम्भीर समीक्षाको विषय बन्न सक्छ, नभए विमानस्थल सञ्चालनमा आउँछ र आउनुपर्छ।”
उनले पुरानो विमानस्थल सञ्चालन हुने स्थिति नभए नयाँ ठाउँमा काम अगाडि बढाउनुपर्ने बताए। विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको टीकापुर महोत्सवमा पनि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसँग टीकापुर विमानस्थल सञ्चालनको एक सुत्रीय माग राखेको थियो। त्यसपछि विमानस्थलको स्थलगत निरीक्षण तथा अध्ययन समितिले तीन पटक विमानस्थलको अध्ययन गरेको थियो। त्यो अध्ययनको प्रतिवेदन भने अझै सार्वजनिक हुन सकेको छैन। – रासस
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर ।
यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् ।
जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो ।
अहिले पुन: पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए। जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो ।
तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।”
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुन: यात्रा तय गर्दछन् ।
पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् ।
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन ।
“राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन्। राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो ।
ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन्।
“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।”
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुशी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् ।
चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरि-थरिका परिकार बनाउन सिकाएको छ ।
छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन्। होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् ।
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन् ।
बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ ।