
भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।
काठमाण्डौ – पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार (आज) गजुर राखिएको छ ।
नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।
यो गजुर तीन सय ३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘धरहराको टुप्पामा तीन सय ३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।’ उहाँका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रतिस्थापन गरी र नयाँ गजुरको पूजा गर्नुभएको थियो ।
अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ ।
यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरूप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आउँदो मङ्सिरसम्मको समय कुर्नुपर्नेछ ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।
भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखाको बारपाक केन्द्रविन्दु भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत् रूपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।
घर बगाएपछि बस्नलाई न घर छ न खानलाई गास छ,यी महिलाले दुख लुकाएरपनि अरुसँग हास्दै बोल्छीन-भिडियो हेर्नुहोस्