
काठमाडौं । अब आफू मन्त्री बताउँदै आएको पूर्णबहादुर खड्का अहिले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री बनेका छन् । उनले यसअघि मन्त्री बन्दिनँ भनेको भए पनि र अहिले उपप्रधानमन्त्री पद पाएकाले पुनः मन्त्री बनेको हास्यास्पद अभिव्यक्ति दिएका छन् ।
आज (शनिबार) सन्त नेता किसुनजीको आश्रम बाडेगाउँमा पुगेर उनको शालिकमा माल्यार्पण गरेका मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर यसअघि बोलेको बताएका हुन् ।
यसअघि सार्वजनिक कार्यक्रममा उनले आफू अब कहिल्यै मन्त्री नबन्ने बताउने गर्थे । विगतमा पटक पटक मन्त्री भइसकेकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका खड्काले यसपालि उप–प्रधानसहित रक्षामन्त्री पद पड्काएपछि उनको आलोचना समेत भइरहेको छ ।
सोही आलोचनालाई इंगित गर्दै उनले भने, ‘मैले मन्त्री खान्नँ, मन्त्री बन्दिनँ भनेको तर फेरि मन्त्री बन्यो भनेर मेराविरुद्ध सामाजिक सञ्जालमा आइरहेको छ । तर मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर त कहिल्यै भनेको छैन नि । मैले मन्त्री बन्दिनँ पो भनेको हो, यस कुरामा अहिले पनि अडिग छु ।’
उनले आफू धेरैचोटि मुलुकको मन्त्री भइसकेँको बताएँ । २०५५ सालदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसंख्या तथा वातावरणमन्त्री, वाणिज्यमन्त्री, सञ्चारमन्त्री दुई–दुई चोटि गृहमन्त्री समेत बनेको बताए ।
‘यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब फेरि मैले मन्त्रीका रूपमा फर्कनु, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले मैले घोषणा गरेको थिएँ कि आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो । त्यसपछि यो ७ वर्षको अन्तरालमा यी घटनाक्रम भए । यस अवधिमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ । तर अहिले म मन्त्री मात्र बनिरहेको छैन, मुलुकको उपप्रधानमन्त्री पनि छु । यो कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छु ।’
उनले पहिलोपटक २०७२ सालमा अर्घाखाँची एक कार्यक्रममा आफू फेरि कहिल्यै मन्त्री नबन्ने भनेर ‘प्रण’ गरेका थिए । त्यसपछि पनि उनले मन्त्री बन्न अनिच्छा देखाइरहे । तर हाल आएर शुक्रबार विस्तार भएको मन्त्रिमण्डमा उनी उपप्रधान तथा रक्षा मन्त्री बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको दाबी गरेका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै बिहीबार उनले देशमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका हुन् ।
नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ,’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।”
बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनुले छुट्टै महत्व बोकेको पनि उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उनकाे विश्वास छ ।
उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको उनल बताए । भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु ।’
लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको पनि उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताएका हुन् ।
चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्रीले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो । विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्नेछ ।’
भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए ।
कार्यक्रममा नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रुपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।
भरतपुर विमानस्थलको विस्तार र ट्रमिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उनको भनाइ थियो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बागमती प्रदेशमा नै खुशियाली छाएको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, हरि सापकोटा, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी लगायतले बोलेका थिए ।
कस्ताे छ विमानस्थलकाे अवस्था ?
नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।
देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ ।
चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो ।
चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले रू तीन करोडभन्दा बढी सम्पत्ति आर्जन गरिसकेका छन् । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु आश्चर्यमा पर्ने गरेका छन् ।
अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनी अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् । कार्कीले १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनी जिल्लामा मिश्रित खेती गर्ने पहिलो किसान हुन्।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन्। ।
“मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,” कार्की भन्छन्, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । रू एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रू १२ लाखभन्दा बढी कमाइ हुने गरेको छ ।”
“तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ”, उनी न्छन्, “माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।”
माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपु¥याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ ।
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्की बताउँछन् । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उहाँको घरसम्म पुग्ने गरेका छन् ।