आइतबार ०७ आश्विन २०८०

चितवनमा २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता
July 7, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन्।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ। परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

तर, अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ। गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनका पिता जयेश्वर सापकोटाले बताए। उनका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए।

भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ। बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन्।

उनी बिनाको घरमा आउ-जाउ गर्दथे। नौ महिना जति बेलायत बसेका ती युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए।

ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ।

उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन्। त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन्। सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ। प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन्। प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ।

केटीको घर मात्रै गैंडाकोट हो, घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान गरिरहेको छ खनालले बताइन्।


Last Updated on: July 7th, 2021 at 11:40 am
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया