मंगलबार १६ आश्विन २०८०

काठमाडौँ । बलिवुड अभिनेता दिलीप कुमारले ९८ बर्षको उमेरमा दुनियाँलाई अलबिदा गरेका छन् । भारतीय सिनेमामा सम्मानित नाम दिलीप कुमार संसारबाट बिदा भएपनि उनका कालजयी सिनेमाले बर्षौंसम्म उनलाई जीवित राख्ने छ ।

adadad
असलीमा मोहम्मद युसूफ खानबाट बलिवुडका महान अभिनेता दिलीप कुमार बनेको उनको यात्रा पनि कम रोचक छैन । १९२२ को डिसेम्बर ११ मा पेशाबर (हालको पाकिस्तान) मा जन्मिएका दिलीप कुमारका पिताको मुम्बईमा फलफूलको कारोबार थियो । कम उमेरमा नै युसूफले पिताको कारोबारमा सहयोग गर्नु पर्ने भएपछि पिता मोहम्मद सरवर खानका छोरा युसूफ सरवर खानको रुपमा पिताका सहयोगीको रुपमा कारोबारमा सामेल भएका थिए ।

यसैक्रममा आफ्ना पितासँग असमझदारी बढेपछि आफ्नै खुट्टामा उभिन भन्दै उनी पुणे गए ।

पुणेमा अंग्रेजी सिक्ने चक्करमा ब्रिटिश क्यान्टिनमा काम गरेको, त्यसपछि ब्रिटिश सैनिकका लागि स्यान्डबीच काउन्टर खोलेको र यसैक्रममा भारतको स्वतन्त्रताको लडाईमा समर्थन गर्दा एक दिन जेल बसेपछि काम बन्द भएको दिलीप कुमारका शुरुवाती संघर्षका कथा उनको आत्मकथामा उल्लेख छ ।

उनी त्यस घटनापछि फेरी मुम्बई फर्किएर आफ्ना पिताको कामलाई सघाउन शुरु गरेका थिए । उनले यसपछि तकिया बेच्ने काम गरेपनि त्यो सफल नभएको र कारोबारमा उनी जम्न नसकेको उनको आत्मकथामा उल्लेख छ ।

यसैक्रममा एक दिन चर्चगेट स्टेशनमा लोकल ट्रेन पर्खिने क्रममा एक चिनजानका साइकोलोजिष्ट डाक्टर मसानीसँग भेट हुन्छ । डा. मसानीले युसूफलाई आफु बाम्बे टाकिजकी मालिक देविका रानीसँग भेट गर्न जान थालेको र त्यहाँ काम पाउन सकिने भन्दै आग्रह गरेपछि उनी पहिलो पटक फिल्म स्टुडियो जाने कुरा सुनेर त्यसतर्फ गएका थिए ।

बाम्बे टाकिज त्यति बेलाको सबै भन्दा सफल फिल्म निर्माण ब्यनार थियो । सो ब्यानरकी मालिक देविका रानी फिल्म स्टार भएर पनि निकै अत्याधुनिक र दूरदर्शी महिला थिइन् । देविका रानीसँग भेट गराउदै डा. मसानीले युसूफको परिचय गराउदै कामको कुरा गरेका थिए । देविका रानीले युसूफलाई अभिनेता बन्ने हो ? भन्ने प्रश्न गर्दै मासिक १२५० तलब दिने गरि कामको अफर गरीन् । तर उनले आफ्नो काममा कुनै अनुभव नभएको र सिनेमा बारे केहि नबुझेको बताएपछि देविका रानीले आफुलाई राम्रो लुक भएको फिल्म अभिनेता चाहिएको भन्दै फिल्म निर्माण र अभिनय सिक्न सकिने भरोसा दिलाएकी थिइन् ।

यसैक्रममा देविका रानीले युसूफलाई बोलाएर आफुले छिट्टै फिल्ममा लन्च गर्न लागेको सुनाइन् । तर उनले फिल्ममा स्क्रिन नाम परिवर्तन गर्नुपर्ने पनि बताइन । युसूफ अलमलमा परे पनि छलफल पछि नाम परिवर्तन गर्न तयार भएका थिए । दिलीप कुमारले देविका दूरदर्शी महिला भएको आफ्नो आत्मकथामा लेखेका छन् । भारत स्वतन्त्र हुनुअघि हिन्दु-मुश्लिम त्यति विभाजित नभएपनि एउटा अभिनेता सबै बर्ग र तहमा स्वीकार्य हुनुपर्छ भन्ने उनको मान्यता थियो । सोहि अनुसार दिलीप कुमारलाई उनले नाम परिवर्तन गर्न भनेको आत्मकथामा लेखेका छन् ।

यसरी देविका रानीले युसूफलाई दिलीप कुमार बनाएर १९४४ मा ‘ज्वार भाटा’ फिल्ममा लन्च गरिन । यो फिल्म बक्स अफिसमा भने त्यति चलेन । त्यति बेला ज्वार भाटा फिल्मी पत्रिकाले दिलीप कुमारलाई ‘भोको जस्तो देखिने हिरो’ भनेर टिप्पणी गरेका थिए ।

तर त्यतिबेला लाहोरबाट प्रकाशित हुने पत्रिका सिने हेराल्डका सम्पादक बीआर चोपडा (जो पछि चर्चित फिल्म निर्माता बने) ले भने दिलीप कुमारको पहिलो फिल्ममा अभिनय क्षमताको प्रसंशा गरेका थिए । उनले अरु अभिनेता भन्दा फरक रहेको लेख्दै डायलग डेलिभरी राम्रो रहेको लेखेका थिए ।

युसूफबाट दिलीप कुमार बनेपछि उनले कहिल्लै पछाडी फर्किएर हेर्नु परेन । उनले बलिवुडमा ६० भन्दा बह्दी फिल्ममा काम गरे । उनका १९४९ मा रिलिज भएको फिल्म अन्दाज, १९५२ मा रिलिज भएको आन, १९५५ मा रिलिज भएको देवदास, १९५५ मै रिलिज भएको आजाद, १९६० मा रिलिज भएको मुगल-ए आजम, १९६१ मा रिलिज भएको गंगा जमुना, १९८१ मा रिलिज भएको क्रान्ति, १९८६ मा रिलिज भएको कर्मा, १९९१ मा रिलिज भएको सौगादर चर्चित र सुपर हिट फिल्म हुन् । यी बाहेक नयाँ दौर, कोहिनूर, लीडर, राम और श्याम, शक्ति जस्ता फिल्मबाट उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

भारतीय सिनेमा उनले दिएको योगदानलाई कदर गर्दै भारत सरकारले उनलाई १९९१ मा पद्म भूषण, १९९४ मा दादा साहेब फाल्के अवार्ड, २०१५ मा पद्म विभूषण अवार्डबाट सम्मानित गरेको थियो । त्यस्तै उनले ८ पटक फिल्म फेयरको उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।


Last Updated on: July 8th, 2021 at 11:18 am
७८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया