
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पुर्याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिण्डर बोकेर घर–घर पुर्याउन थालेका हुन् ।
‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामाग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पुर्याइदिन्छु ।’
बजारमा अक्सिजन सिलिण्डर कम भएका कारण नपाएपछि सर्वसाधारणले आफूलाई फोन गर्ने उनले बताए । ‘सङ्क्रमितको व्यवस्थापनमा महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ,’ उनले भने, ‘हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिम परिचालन भएको छ, जनताले बोलाएको ठाउँमा पुग्छु ।’
कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ, आवश्यक छ भने हामी पुग्छौँ,’ उनले भने, ‘हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।’
अक्सिजन सिलिण्डर जाेड्दै मेयरका अङ्गरक्षक चित्र दाहाल
आफू राति पनि अक्सिजन पुर्याउन खटिएको उनले बताए । ‘जनतालाई ग्राह्रो भएको जानकारी पाउँदा राति पनि पुग्छु, अस्ति राति ११ बजे सरोचिया पुगेँ,’ उनले भने, ‘मेरो टिमलाई २४ सै घण्टा सक्रिय हुनुपर्छ भनेको छु ।’
विराटनगर महानगरपालिकामा दैनिक दुई सय बढीलाई कोरोना सङ्क्रमण देखिरहेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार तनि सय ५७ पुगेको छ ।
तीन ठाउँमा स्वाब सङ्कलन, १९ बेडको आइसोलेसन
सङ्क्रमण दर पनि बढेकाले महानगरपालिकाले तीन स्थानमा कन्ट्याक ट्रेसिङ सुरु गरेको छ । समुदायस्तरमा सङ्क्रमण बढेपछि सोमबारबाट कन्टयाक ट्रेसिङ सुरु गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार तीन स्थानमा स्वाब सङ्कलन केन्द्र राखिएको छ ।
विराटनगर– १५ मा रहेको रानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, विराटनगर–७ आदर्श स्कुलको विज्ञान भवन र विराटनगर– १ स्थित पुरानो दमकल कार्यालयमा स्वाब सङ्कलन सुरु गरिएको हो ।
महानगरपालिकाले आइसालेसन केन्द्र पनि सुरु गरेको उनले बताए । विराटनगर–१९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १९ बेडको आइसोलेसन केन्द्र सुरु भएको हो ।
यहाँ चार जना कोरोना सङ्क्रमितलाई राखिएको छ । सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउनका लागि महानगरपालिकाले एम्बुलेन्स पनि सुरु गरेको उनले बताए । सङ्क्रमण रोक्नका लागि महानगरपालिकाले नाकामा हेल्थ डेस्क पनि राखेको उनले जानकारी दिए ।
अक्सिजन घरमा पुर्याउने सस्तो लोकप्रियता
मेयर पराजुली अक्सिजन लिएर घर पुगेपनि व्यवहारिक नहुने उपभोक्तावादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुङ्गेल बताउँछन् । सबै जनतालाई सहज रूपमा अक्सिजन पुर्याउने संयन्त्र तयार गर्नुको साटो मेयर आफैँ अक्सिजन बोकेर घरमा पुग्नु गलत भएको उनले बताए ।
‘जनताले चाहेको बेला सहज रूपमा पाउने गरी मेयरले संयन्त्र बनाउने हो, सस्तो मार्केटिङ होइन,’ उनले भने, ‘संयन्त्र नबनाउने अनि एक्लै कुद्ने शैली राम्रो होइन ।’ उनले मयर पराजुलीले संयन्त्र परिचालन गरे अावश्यक परेका नागरिकले अक्सिजन पाउने बताए ।