मंगलबार २३ जेठ २०८०

काठमाडौं ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । साथै उनले थप लगानीको अवसर सिर्जना गर्न समेत सरकारको ध्यान केन्द्रित हुने बताए । तर त्यसको लागि प्रतिवद्धता, पारदर्शिता र इमान्दारिता चाहिने उनको भनाई थियो ।

बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’ यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ छ ।अघि बढ्न निर्देशन दिएका छन् । सरकारको कामलाई पारदर्शी बनाई जवाफदेही भएर आफ्नो क्षेत्रमा दक्षता पूर्वक काम गर्न समेत उनले निर्देशन दिएका छन् ।

साथै उनले भने पूँजीगत खर्च वृद्धि गर्दै व्यापार घाटा न्यूनिकरण गर्ने गरी काम गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् । व्यापार घाटा न्यूनिकरणका लागि अभियान नै संचालन गर्ने भन्दै त्यसका लागि सबैको साथ र समर्थन आवश्यक रहने बताए । साथै देशमा रहेको गरिबी न्यूनिकरणका लागि ठोस कार्ययोजना ल्याउने समेत बताएका छन् ।

यसैगरी देशमा व्याप्त न्यूनिकरणका लागि आवश्यक स्रोत साधन परिचालन र व्यवस्थापन अहिलेको चुनौती रहेको समेत उनको भनाई थियो । नेपालको कमजोर आर्थिक अवस्थाका कारण आर्थिक वृद्धिदर समेत रहेको भन्दै त्यसलाई उकास्न सरकार लागिपर्ने बताए । ‘सरकारको आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन भने खर्च गर्ने स्रोतको उपलब्धता समेत समयमै जुटाउन कठिन छ,’ उनले भने, ‘साथै असारको अन्तिममा आएर पूँजीगत खर्च बढि हुने प्रचलनलाई समेत रोक्नु जरुरी छ ।’

मन्त्रालयबाट भइरहेको कामलाई आफूले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे । उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभुल्न समेत सचेत गराए । शर्माको काँधमा महामारीबाट अर्थतन्त्रलाई उकास्दै जनअपेक्षा पूरा गर्ने गहन जिम्मेवारी आएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका छन् । उनले महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति गरेका छन् । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर गरेका छन् । स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ ।

चर्को विद्युत्भार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन्।


Last Updated on: July 14th, 2021 at 4:15 pm
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया