
काठमाडौ । कोरोना संक्रमित भएर पनि अक्सिजनको अभावमा जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्रमितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् । उनले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।
अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामारीमा पनि समस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए । आर्थिक रुपले विपन्न र लकडाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्रमितलाई सहयोग गर्ने उनले बताएका छन् ।
‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। उनले अक्सिजन पाएको भएपनि सिलिण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् । आफ्नो समुहले थन्किएका सिलिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् । उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बताएका छन् ।
केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताए। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।