शुक्रबार १९ जेठ २०८०

बुटवल : नवलपरासी पूर्व देवचुलीका एक कोभिड-१९ संक्रमितलाई उपचारका लागि अस्पताल लैजान एम्‍बुलेन्‍ससमेत पाएनन् । ट्याक्टरमा घिसारेर अस्पताल लैजाँदै गर्दा बाटोमै ज्‍यान गयो । कोभिड-१९ संक्रमण देखिएर घरमै रहेका देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई सोमबार एक्कासि स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान आफन्तले एम्बुलेन्स खोजी गरेका थिए ।

कतिपयले बाहिर भएको बताए त कतिपयले नबोक्ने भनेपछि फोहोर बोक्ने ट्याक्टरमा राखेर अस्पताल हिँडाए । काठको मुढो जस्तैगरी उनलाई ट्याक्टरमा राखियो । तर अस्पताल नपुग्दै उनको ज्‍यान गयो। अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगिएको थियो । ५ दिनअघि चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोभिड-१९ संक्रमण देखिएको थियो।

देवचुली-१३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको पहल गरे पनि एम्बुलेन्स नपाएको बताए ।दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको श्रेष्ठको भनाइ छ ।

देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र १० वटा एम्बुलेन्स छन् । नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ निकै लाज लाग्दो घटना घटेको स्वीकार बताए। उनले सक्रमित नबोक्ने एम्बुलेन्‍सलाई कारबाही प्रकृया अघि बढाउने बताए ।

बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्‍स खोजी कार्यमा आफै खटिएका वडा अध्यक्ष डिलबहादुर खत्रीले पालिकाभित्रका सबै एम्‍बुलेन्‍सलाई बोलाएको जानकारी दिए । ‘मंगलबार ४ बजे बोलाएका छौं । बिरामी नोबोक्नुको कारण सोधेर थप कारबाही अघि बढाउछौं,’ उनले भने । बिरामीलाई ट्याक्टरमा राख्दा म त्यही थिएँ । आमा छोराले सकि-नसकि राखे । हामीले केही गर्न सकेनौँ । सम्झदा अहिले पनि रुन मन लाग्छ ।


Last Updated on: May 6th, 2021 at 12:43 am
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया