बुधबार १३ साउन २०७८

काठमाडौं

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

इमिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी खोप लगाएको सही रेकर्ड नहुँदा अनियमितता भएको हुन सक्ने बताउँछन्। उनी स्वास्थ्यकर्मीले लक्षित समूहभन्दा बाहिरका नातागोतालाई खोप दिएको हुन सक्ने र शक्तिका आडमा स्थानीय राजनीतिक नेतृत्वले आफ्ना मान्छेलाई खोप लगाउँदा रेकर्ड नराखिएको हुन सक्ने उनको अनुमान छ।‘खोप खरिदमा मात्र होइन, खोप लगाउँदा पनि सुशासनको अभाव देखिएको छ,’ उनी भन्छन्।

आगामी दिनमा राज्यले खरिद गरेको हरेक डोज खोपको उपयोगमा पारदर्शिता हुनुपर्ने र समयमै तथ्यांक संकलन गर्ने चुस्त प्रणाली बनाउन उनको सुझाव छ। ‘खोप प्रयोग गर्ने क्रममा खेर गएको हो भने त्यसको प्रतिशत प्रस्ट हुनुपर्छ, उनी भन्छन्।

नेपालमा गत माघदेखि खोप अभियान सुरु भए पनि हालसम्म ४ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै डोज लगाएका छन्। अमेरिकाको जोन्सन एन्ड जोन्सन तथा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित खोपमार्फत हाल नेपालको खोप अभियान अगाडि बढाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।


Last Updated on: July 20th, 2021 at 11:47 am
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया