शुक्रबार ०५ कार्तिक २०७८

यातना पाएकी महिलालाई ५५ हजार रुपैयाँ सहयोग
July 21, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
सुदूरपश्चिम

श्रीमान्ले निर्घात कुटपिटपछि कान काटिदिएको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले र काठमाडौंको धुम्बाराही निवासी महेश पाण्डेले आर्थिक सहयोग गरेका छन् ।

पूर्वन्यायाधीश केसीले ३० हजार र पाण्डेले २५ हजार गरी नगद ५५ हजार रकम जानकीलाई सहयोग गरेका हुन् । आइतबार कान्तिपुर दैनिकमा ‘श्रीमतीलाई निर्घात कुट्दै कान काटे’ शीर्षकमा प्रकाशित समाचार पढेपछि पीडितलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले नगद सहयोग गरेको सहयोगीहरूले बताएका छन् ।

केसीले हिंसारहित समाज बनाउन यस्ता प्रवृत्तिविरुद्ध समाजमा शून्य सहनशीलता अपनाउनुपर्ने र घटनामा परेकाको जीवन सहज बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । पाण्डेले पीडित महिलाको पुनःस्थापना र जीवन निर्वाहका लागि सहयोग होस् भनेर आफूले अरू सहयोगीको पनि खोजी गरिरहेको बताए । ‘दुःखमा परेको मान्छेलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । उहाँलाई थप सहयोगका लागि साथीहरूसँग पनि पहल गरिरहेको छु,’ पाण्डेले भने ।

सहयोगीहरूले दिएको नगद रकम इन्सेकका प्रतिनिधि रमेश केसी, पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष जगदीश रोकायाको रोहबरमा अल्पकालीन महिला सुरक्षा आवास गृहकी इन्चार्ज गीता शाहीले पीडित नेपालीलाई सोमबार हस्तान्तरण गरेकी छन् । विवाह भएको केही दिनबाट लगातार हिंसा खेपिरहेकी नेपालीले केसीलाई फोन गरेर धन्यवाद दिँदै कानुनी उपचार र पुनःस्थापनामा सहयोग गर्न अनुरोध गरेकी थिइन् । आफू पतिको घरमा बस्न नसक्ने अवस्था भएको बताउँदै उनले आफ्नो जीवन रक्षा र तीन छोराछोरीको शिक्षादीक्षाका लागि प्रबन्ध मिलाउनका लागि पहल गरिदिन पत्रकार र मानवअधिकारकर्मीसँग अनुरोध समेत गरेकी छन् । ‘अब म त्यसको घरमा गएर बस्न सक्ने अवस्था छैन । छोराछोरीको र मेरो जीवन धान्ने व्यवस्था गरिदिनुपर्‍यो । उसलाई कडाभन्दा कडा सजाय हुनुपर्‍यो,’ उनले भनिन् ।

निर्घात कुटपिटपछि कान काटेर फरार रहेका जानकीका पति मनोज नेपालीलाई प्रहरीले आइतबार नै पक्राउ गरेर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । फरार रहेका मनोजलाई बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित एक आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्काले बताए ।

घटनाका बारेमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले पनि यो विषयमा चासो व्यक्त गर्दै पीडितलाई छिटो कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको डीएसपी खड्काले बताए । मनोजले गत बुधबार दिउँसो एक जना आफन्तसँग किन हाँसेको भन्दै साँझ जानकीलाई निर्घात कुटपिट गरेका थिए । मदिराको मातले लट्ठिएका उनले कुटपिटका क्रममा जानकीको बायाँ कान काटिदिएका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी जानकी अल्पकालीन महिला सुरक्षा गृहको संरक्षणमा उपचार गराइरहेकी छन् । लगातारको हिंसाका कारण मानसिक समस्यामा रहेकी उनलाई परामर्श दिने काम भइरहेको र पूर्ण रूपमा स्वस्थभएपछि पुनःस्थापनाका लागि पहल गरिने अल्पकालीन महिला सुरक्षा गृहकी इन्चार्ज गीता शाहीले बताइन् ।


Last Updated on: July 21st, 2021 at 7:29 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया