बिहिबार १४ साउन २०७८

नयाँ उर्जामन्त्रीले फेरि कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने तयारी गर्दै
July 22, 2021
FacebookTwitterPrintMore
कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिए। उनी बाहिरिने समय आउनैलाग्दा सामाजिक सञ्जालमा उनैलाई पुनः उक्त पदमा दोहोर्‍याउनुपर्ने चर्कै आवाज उठ्यो। सामाजिक सञ्जालमा यसरी आवाज उठाउनेमध्ये एक थिए– तत्कालीन नेकपाका नेता नारायणकाजी श्रेष्ठ। उनले फेसबुकमा स्टाटसै लेखेर घिसिङलाई नै पुनर्नियुक्तिको माग गरेका थिए। कुलमानलाई पुननियुक्ति दिन यसरी आवाज उठाउने धेरै थिए। यसको कारण थियो– लोडसेडिङ हटाउन खेलेको उनको नेतृत्वदायी भूमिका।

त्यसबेला ऊर्जामन्त्री थिए वर्षमान पुन, जो घिसिङको कार्यकाल थप गर्न चाहन्थे। त्यसैले उनले मन्त्रिपरिषदमा घिसिङलाई पुननियुक्ति दिन प्रस्ताव लगे। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पुनको प्रस्तावमा सहमत हुनसकेनन्। अन्ततः तत्कालीन सरकारले ‘प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउने होइन, बरु उनीजस्तै नेतृत्वक्षमता भएकाहरु जन्माउने’ भन्दै कुलमानलाई नियुक्ति दिएन। उनी बाहिरिए। त्यसपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

पछि मन्त्रिपरिषदले उनको ठाउँमा तत्कालीन समयमा प्राधिकरणअन्तर्गतकै एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका दोस्रो वरीयताका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पियो।तर अहिले सरकार बदलिएसँगै फेरि कुलमानलाई नै प्राधिकरणको नेतृत्व सुम्पिने चर्चा चलेको छ।

शेरबहादुर देउवाको प्रधानमन्त्रित्वमा बनेको सरकारमा ऊर्जा मन्त्रालयको कमान माओवादी केन्द्रबाट पम्फा भुसालको हातमा परेसँगै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने चर्चा सुरु भएको हो।

तत्कालीन समयमा पनि कुलमानलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइँदा माओवादीले नै ऊर्जा मन्त्रालयको नेतृत्व लिएको थियो। हालका अर्थमन्त्री जनार्दन शर्मा तत्कालीन समयमा ऊर्जामन्त्री थिए। उनैले घिसिङलाई प्राधिकरणमा नियुक्ति दिएका थिए।

कुलमानले जिम्मेवारी सम्हालेसँगै दिनहुँ भोग्नुपरेको लोडसेडिङ नाटकीय रुपमा अन्त्य भयो। राम्रो कार्यकुशलता निर्वाह गरेकै कारण यसको जस लिन तत्कालीन ऊर्जामन्त्रीसम्मले पाए। घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा नेपालमा दैनिक १४ घण्टाको लोडसेसिडङ हुन्थ्यो।

सबैको वाहवाही पाएका उनै घिसिङलाई अहिले पुनः प्राधिकरणको नेतृत्व दिइने चर्चा केही दिनयता खूबै चलेको छ। ऊर्जा मन्त्रालयकै एक अधिकारीका अनुसार कुलमान घिसिङलाई जसरी पनि प्राधिकरणमा ल्याउने तयारी भइरहेको छ। ‘ऊर्जामन्त्रीले आफ्नो टिममा कुलमानलाई जसरी पनि राख्ने नै भन्नुभएको छ। स्रोत : नेपाल खबर


Last Updated on: July 22nd, 2021 at 4:58 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया