सोमबार ११ आश्विन २०७८

भोला थापा क्षेत्री / नेपाल, हाल कतार
वरपर घनघोर जङ्गल छ । हरेक रात बाघ हिँड्छ । कहिलेकाहीँ आक्रमण पनि गर्छ । बाँदर र भालुले मकै सत्यनास पार्छ । दिउँसै समेत बस्न डर लाग्ने त्यो ठाउँ नजिकै एउटा सानो घर छ ।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

7 Little-Known Facts About Barron Trump
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

करिब २/३ सय मिटरको दूरीमा रहेका अन्य घरहरु बोलाउँदा झट्टै नसुनिने कोल्टे परेको ठाउँमा छन् । एउटा गोठजस्तो घरमा आफ्ना साना छोराछोरी च्यापेर जीविकोपार्जन गर्दै आएकी मनमायाको कथा भने फरक छ ।

श्रीमान् पैसा कमाउन भारत जानुभएको धेरै भयो । श्रीमान भारत गएपछि मनमाया एक्ली भइन् । भारत गएपछि श्रीमानले मनमायालाई वास्ता गर्र्नै छाडे । लामो समयसम्म घर पनि फर्किएनन् । तर पनि मनमायाले हिम्मत हारिनन् । दैनिक ज्याला मजदूरी गरेरै भए पनि साना छोराछोरीलाई कहिल्यै भोकै राखिनन् ।

उनले आफ्नो गाँस काटेरै भए पनि छोराछोरीको पेट भोको हुन दिइनन् । पानी मात्रै पिएर पनि गाउँमा काम गर्न गएको पीडा सुनाउँछिन् कहिलेकाहीँ मनमाया ।
मनमायाले भोग्नुपरेको गरीबी । त्यसैमाथि श्रीमानको पनि अत्तोपत्तो नभएपछि छोराछोरीलाई विद्यालय पठाउने कुराले पनि पिरोल्न थाल्यो ।

तर मजदुरी गरेरै भए पनि छोराछोरीको लागि आवश्यक लत्ताकपडा, खाना र पढ्नको लागि किताबकापीको जोहो गरिन् । अनि नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिइन् ।

एक जोर नयाँ कपडा किन्न पनि दशैँ नै कुर्नुपर्ने थियो । कहिले छोराछोरीका त कहिले आफ्नै चप्पल चुँडिन्थे । गाउँमा लाहुरेले क्यासेट बजाएर फालेका ब्याट्रीका ढक्कनको सहारमा आफ्नो पटुकी च्यातेर चप्पलको फिता गाँस्थिन् । यसैगरी काम चल्थ्यो ।
श्रीमान् नभएपछि मनमा अनेकथरी तर्कना आउँथे । कहिले श्रीमान् बेपत्ता भएको पीडा त कहिले छोराछोरीको भविष्यको चिन्ता । कहिलेकाहीँ मन बहकिन्थ्यो । राति निद्रा लाग्नै नमान्ने ।

उनको दैनिकी निरन्तर चल्दै गयो । गरिब भएपछि समाजले हेप्ने प्रवृत्ति त्यो समाजमा पनि नहुने कुरै भएन । कतिले त उनलाई छोराछोरी छोडेर अर्कैसँग बिहे गर्न पनि भने । मान्छे पनि कतिसम्म निर्दयी । यस्तो सल्लाह कसरी दिन सक्छन् होला ।

तर मनमायालाई भने कसैको सल्लाहले केही फरक पारेन । कसैले यसो भन्दा आफ्ना आँखा अगाडि आफ्ना स–साना छोराछोरीको हाँसो सम्झिन् । उनीहरुका आँसु सम्झिन् । आमा भन्दै बोलाएका भाका सम्झिन् । उनको मनले छोडेर जाने कल्पना पनि गर्न सकेन ।

वर्ष बित्दै गए । विस्तारै मनमायाका छोराछोरी पनि घरको काममा सघाउन सक्ने भए ।
बिहानको खाना र पानी–पँधेरो आफैं गर्न सक्ने भए । मनमायाको मनमा खुसी थपियो । मन मनै भन्न थालिन् –‘अब म मेरेर गए पनि मेरो छोराछोरी भोक भोकै मर्दैनन् ।’
एउटी आमाको आफ्ना छोराछोरीप्रतिको अगाढ माया । छोराछोरी हुर्किएपछिको खुसी । अब मनुमायालाई पनि अलि ढुक्क लाग्न थाल्यो । तर पनि हजारौं प्रश्न मनमा कुदिरहन्थे ।

समय बित्दै गयो । छोराको ओठमा जुँगाको रेखी बस्न थालिसक्यो । छोराले कमाउन जाने कुरा गर्न थाल्यो । बल्ल मनमायालाई लाग्यो अब छोरो ठूलो भयो । विस्तारै आफ्नो हराएको श्रीमान् भेटिने आशा पनि बढ्न थाल्यो । त्यसपछि मनमायाले आफ्नो गाउँकै एक व्यक्तिको सहारमा छोरालाई हराएको बाबु खोज्न भारत पठाइन् ।
एक महिनापछि श्रीमान् भारतमै रहेको खबर पाइन् मनमायाले ।

यो खबर सुनेर उनको खुसीको सीमा नै रहेन । त्यसपछि अहिलेसम्म भोगेका सबै कुरा बिर्सिइन् । दिमागमा आफ्ना हराएका श्रीमान्को तस्बिर नाच्न थाल्यो । अहिले कस्तो भएका होलान् भन्ने कुराले मनमा तरङ्ग ल्याइरह्यो । आफूले भेट्ने छट्पटीले सताउन थाल्यो ।

जे भए पनि वर्षौंसम्म मनमा रहेको पत्थर हटेजस्तो भयो ।
सधैंभरी कर्मलाई दोष दिइरहने मनमायाको अँध्यारो छाएको अनुहारमा श्रीमान् भेटेको खबरपछि उज्यालाका सुनौला किरण थपिए । मनमायाको सधैं बादलिएको अनुहार भिन्दै भयो ।

केही दिनपछि छोरो कृष्ण र श्रीमान् घर आइपुगे । हेर्न गाउँलेको घुइँचो लाग्यो । अघिपछि कुरा काट्ने गाउँले त्यसपछि प्रशंसा गर्न थाले ।
‘हराएको भन्थे आएछ धन्न, श्रीमती ठीक थिई बालबच्चा पालेर बसी’ सधैं हेप्ने छिमेकीले अहिले यसो भन्दा मनमायालाई भने कताकता दुःख लागिरह्यो ।
वर्षौंपछि हराएका श्रीमानसँग भेट भयो । परिवारमा खुसी थपियो । सबै कुरा राम्रो चल्दै थियो ।

विस्तारै कृष्णले अलिकति कमाउन थाले । त्यसपछि घरबाट विहेको कुरो छिनियो । ऋण काढेरै भए पनि राम्रैसँग छोराको बिहे गरे । बिहे गरेपछि कृष्ण श्रीमती लिएर कमाउन फेरि सहर पसे । नेपालमै सहरको कमाइले चित्त नबुझेपछि बढी पैसा कमाउने आशामा श्रीमतीलाई सहरमै छाडेर कृष्ण फेरि खाडी पुगे ।

कृष्ण खाडीमा धेरै कमाएर श्रीमतीलाई पठाउने गर्थे । पहाडजस्तो दुःखलाई सहेर पनि आफूलाई हुर्काउने आमाको माया भन्दा कृष्णलाई श्रीमतीको माया बढी लाग्न थाल्यो ।

श्रीमतीसँग दिनहुँ म्यासेन्जरमा भिडियो कुराकानी भइरहन्थ्यो तर उता आमासँग नबोलेको महिनौं भइसक्थ्यो । घरबाट आमाले फोन गरे मात्र कुरा हुन्थ्यो ।
एक दिन खाडीमा बालुवाको रापमा बेल्चा हान्दै थिए, कृण्ण । यत्तिकैमा उनको फोनमा घण्टी बज्यो । नचिनेको नम्बरबाट आएको कल उठाए ।

‘ए बाबु तिमी कृष्ण हौ ?’, हो भन्न नपाउँदै उताबाट दबिएको बुढो आवाज सुनियो, ‘म तिम्रो घरबेटी बज्यै, हेर त तिम्री श्रीमती हिजोदेखि यो सानो बच्चालाई मकहाँ छोडेर एक जना पुरुषसँग बजार गएकी थिइन् अहिलेसम्म घर फर्किएकी छैनन्, तिमी छिट्टै नेपाल आउ है ।’
यति सुनेपछि कृष्णको मुखबाट केही आवाज फुटेन । एक हातमा मोबाइल र अर्को हातको बेल्चा एक्कासी हातबाट बालुवामा खस्यो ।

एक्कासि आमाको याद आयो । त्यति धेरै माया गर्ने आमालाई नबुझेर धोका दिएर जाने श्रीमतीको मायामा फसेको सम्झिंदै बालुवामा आँशु खसाले ।
‘साँच्चै म तोरी लाउरे नै हो’ उनले मनमनै भने, ‘मैले आमाको मायालाई बुझ्नै सकिनँ ।’

जसोतसो मन सम्हाले कृष्णले । अहिलेसम्म कमाएको पैसा जति सबै श्रीमतीलाई पठाइसकेको थिए । अब त घर फर्किनको लागि पनि पैसा बाँकी थिएन । घर पुगेपछि पठाइदिन्छु भनेर साथीसँग सापटी मागेर त्यसपछि नेपाल फर्किए कृष्ण ।

श्रीमतीको खोजी गर्दा कहीँ भेटिएन । त्यसपछि सानो छोरालाई बोकेर आमाबुवाको शरणमा त्यही पुरानो गाउँमा पुगे । अहिले उही अन्तरे काकाको खेतमा विरक्तका गीत सुन्दै छोरोलाई पिठ्यूँमा बोकेर हलो जोती रहेका छन्, कृष्ण ।


Last Updated on: July 27th, 2021 at 2:45 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया