
पैसाका लागि नक्कली बाबु छोरी बनेर नागरिकता !
facebook sharing button 221messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button
काठमाडौ । बाबु छोरीको नाता पवित्र मानिन्छ । तर कतिपय भने पैसाको लोभमा यस्तो नातालाई नै बदनाम गरिरहेका छन् । त्यसमध्ये पर्साका धुरुप प्रसाद पटेल पनि पर्छन् । उनले भारतीय एक नागरिकलाई आफ्नी छोरी भनेर नेपाल सरकारलाई नै झुक्याइदिएका छन् । छोरी बनाएर उनले एक युवतीलाई नागरीकताको प्रमाणपत्र समेत दिलाएपछि उनको करतुत बाहिरिएको हो ।
पैसाका लागि उनी नक्कली बाबु बनेका थिए । छोरी बनी नागरिकता बनाउने सिता पटेल र धुरुप प्रसादलाई अहिले प्रहरीले पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् ।
भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झु ट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई पक्राउ गरेको थियो ।
सिता कुमारीले जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी थिइन् । नागरिकतामा साविक बैरियाबिर्ता दा पु गा वि स वडा नं ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन् ।