बिहिबार ११ कार्तिक २०७८

अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र साहसिक मानिन्छ। भिर पहरामा ज्यान नै हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुनलगायतका युवा मह सिकारको पेशा जोगाउन अग्रसर छन्।’

परम्परागत र पुर्खौली पेशाका रूपमा चिनिने मह सिकारको सीप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थाले पनि यहाँका युवा भने मह सिकारलाई आयआर्जनको माध्ययम बनाएर पुर्ख्यौली पेशालाई जोगाउन लागिपरेका हुन्। तेह्र वर्षको उमेरदेखि नै मह सिकारमा लागेका पुनले एक दशक बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हाल्दै आएका छन्।

‘सुरूमा अरुले मह काढेको हेर्न गएको थिएँ, केही वर्ष मह बोक्ने, काढ्ने ठाउँमा सहयोगीका रूपमा काम गर्ने जिम्मेवारी सम्हालेँ, पछि पराङ हुँदै भिरमा चढ्न थालेपछि सिकारीकै भूमिकामा काम गर्न थालेको हुँ’, पुनले भने। सुरूमा होचा र कम जोखिम भएका भिरहरुमा मह काढेका पुन अहिले भने अक्करे पहाडहरूमा चढेर मह काढ्ने गर्छन्। चोयाका डोरीमा झुन्डिएर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उनका लागि सामान्यजस्तै बन्न पुगेको छ। जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइएका डोरीको भरमा मह काढ्ने गरेको पुनको भनाइ छ।

पुनसँगै पात्लेखर्कका ३० वर्षीय धनबहादुर पुन पनि मह सिकारका भिरौटेका रूपमा खटिने गरेका छन्। आठ वर्षदेखि भिरमा चढेर मह काट्ने काम गर्दै आएका धनबहादुरले भिरमा चढ्ने काम कठिन र जोखिमयुक्त भए पनि पुर्खाहरूले अपनाउँदै आएको सावधानी अपनाएर मह काढ्ने गरेको बताए।

भिरौटेहरूले चोयाको डोरीमा बलिया लौरा बाँधेर बनाइएको भर्‍याङ (पराङ)को सहायतामा भिरमा उक्कले र ओलर्ने गर्छन्। मह सिकारमा प्रयोग हुने सबै सामान चोया र निगालोबाट बनेका हुन्छन्।

चोयाबाट बनाइएका डालीलाई भिरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन्। पुख्र्याैली पेशाका रूपमा रहेको मह सिकारले आयआर्जन हुने र पुरानो पनि जोगिने भएकाले आफूहरुले यसलाई निरन्तरता दिएको भिरौटे धनबहादुरको भनाइ छ । ‘जडीबुटीजन्य औषधिका लागि प्रयोग हुने भिर माहुरीको महको माग अत्यधिक छ। तर भिरमा झुण्डिएर ज्यानलाई नै जोखिममा राखेर मह झिक्नुपर्ने काम चुनौतीपूर्ण छ, हामीले यसलाई पुरानो पेशाको संरक्षण र छोटो अवधिका लागि आयआर्जनको माध्ययमका रूपमा जोगाउन लागिपरेका हौं’, उनले भने।

जेठ, असार र असोज महिनामा गरी दुई याममा मह सिकार हुने भएकाले वर्षमा करिब साढे एक महिना यहाँका युवाहरुले पुख्र्यौली पेशा मह सिकार अँगाल्ने गर्छन् । गाउँदेखि टाढाका जङ्गल, खोला, नदीका कठिन बाटो भएर भिर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक–फरक भिरमा पुग्नुपर्ने, नजिकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र सङ्घर्ष गरेर मह सङ्कलन गर्नुपर्ने बाध्यता रहेको पात्लेखर्कमा मह सिकार गर्ने समूहको नेतृत्व गरेका युवा अङ्कित पुनले बताए।

‘साह्रै ठूलो र कठिन सङ्घर्ष गर्नुपर्छ, जोखिम उत्तिकै हुन्छ, स्थानीय स्रोत र साधनको प्रयोग गरेर मह सिकार गर्दै आएका छौँ, अक्करे भिरमा चोयाको डोरीको भरमा मौरीको टोकाइ सहेर मह काढ्ने भिरौटेहरुको भूमिका महत्वपूर्ण हुन्छ’, पुनले भने।

पुनका अनुसार पात्लेखर्कका १२ जना युवाले यस पटकको याममा कन्ठेडम्मार र नरपट्टा खोला क्षेत्रका एक दर्जन बढी भिरमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए । हरेक याममा काढेको मह बिक्रीबाट रु पाँच लाखदेखि सात लाखसम्म गाउँमा भित्रने गरेको छ ।

यसरी हुन्छ महको सिकार
वर्षको दुईपटक जेठ र असोज महिना मह काढ्ने उपयुक्त समय हो। मह काढ्नका लागि चोयाको डोरीको भ¥याङ (पराङ), सुरक्षाको लागि चोयाकै डोरी, मह सङ्कलन गर्ने डाली, कोप्न निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्रीलगायतका सामानको बन्दोबस्त मिलाउने गरिन्छ।

सुरूका दिनमा जङ्गल र भिरका देउतालाई खुसी बनाउन र कुनै अप्रिय घटना नहोस् भन्ने कामनासहित पूजा गरी धजा बाँध्ने चलन रहेको लामो समयदेखि मह सिकारमा संलग्न रहँदै आएका कुइनेमङ्गलेका ६० वर्षीय गोरे शेरपुञ्जाले बताए। भिरमा मह भएको थाहा भएपछि पहाडको टुप्पोमा रहेका रुखहरुमा पराङलाई बाँध्ने र भिरतर्फ खसाल्ने गरिन्छ। सकभर भिरको शिर र पुछार दुवैतर्फ हेरालु बस्ने गर्छन्। सम्भव नभएको ठाउँमा एकातर्फ मात्रै बस्ने गरिन्छ।

पराङ हुँदै भिरतर्फ भिरौटै झरेपछि धुवाँसहितको आगोको मुस्लो मौरीका चाका नजिक पुर्‍याएर धुँवा लगाएर मौरीलाई भगाउने र लठ्याउने गरिन्छ । लठ्ठिएको मौरीले कम टोक्ने गर्छ । भिरमा मह नजिक पुगेपछि भिरौटेले मह काढ्ने गर्छन्। वारिपारि बस्ने हेरालुको कानमा भिरको शिर र फेदीमा बसेकाहरुले डोरीको सहायताले महलाई सुरक्षित ठाउँमा सङ्कलन गर्छन्। यसरी मह सिकार गर्दा मौरीले टोक्ने समस्यासँगै आगोको मुस्लोले भिरमा आगलागी भएर दुर्घटना हुने, पहाडको भूगोल कमजोर भएमा ढिस्को खसेर चोटपटक लाग्न सक्ने र सुरक्षा सावधानी आधुनिक नभएर परम्परागत मात्रै हुने भएकाले मह काढ्दै गरेको समयमा पराङबाट खस्ने जोखिम पनि रहन्छ।

रासस


Last Updated on: August 6th, 2021 at 7:01 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया