
अस्पतालमा बेड छैन, अक्सिजन पनि छैन । बिरामीहरुमा बिकल्प छैन, त्यसैले धेरै कोरोना लागेका बिरामीलाई आफन्तले पीपलको रुखमुनि लिएर गएका छन् । उनीहरुका अनुसार पीपलबाट धेरै अक्सिजन पाइने सुनेर आफन्तले बिकल्पको रुपमा त्यस्तो गरेका हुन् । चिकित्सकहरुले भने यसलाई अन्धविश्वास भनेका छन् । यो भारतको समाचार हो ।
त्यहाँको उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना पुष्टि भएकाहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुई परिवारका झन्डै आधा दर्जन बिरामी पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् ।
‘मलाई सास लिन समस्या भइरहेको थियो र अक्सिजनको कुनै सहारा थिएन । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’ उर्मिला नामकी एक महिलाले भनिन् । भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् ।
उनले शनिबार जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको उर्मिलाले बताइन् ।
न्यूज एटिनमा छापिएको एक समाचार अनुसार, उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’
यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।