सोमबार ०१ कार्तिक २०७८

ओलीभन्दा देउवा गतिला, कम्युनिस्टभन्दा कांग्रेस संस्कारी : नेपाल
साउन २४, २०७८ – \

recommended by
Mgid
Mgid

TESTOULTRA
Men, Eliminate Your Sex Problems If You Do This Daily
LEARN MORE
काठमाडौँ — एमालेको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूको दौडधुप तीव्र छ । तर पहिलो तहका नेताहरू सहमति जुटाउने कोसिस भन्दा दुरी बढाउने खालका गतिविधिमा सक्रिय छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल नै एक अर्काबीच टिप्पणी र भनाभनमा उत्रिदै समाान्तर गतिविधिलाई उक्साइरहेका छन् ।

शुक्रबार आफूपक्षीय केन्द्रीय कमिटिको बैठक सकेर शनिबार दोलखाका कार्यकर्तालाई भर्चुअल सम्बोधन गरेका नेता नेपालले पार्टी एकता, सरकार र ओलीका प्रवृत्तिमाथि लामो व्याख्या गर्दै आफ्नो बाटो स्पष्ट रुपमा बताएका छन् । प्रस्तुत छ नेपालको अभिव्यक्तिको सम्पादित अंश :

हाम्रा कार्यक्रम धमाधम लगातार अगाडि बढाउनुपर्छ । केपी ओलीले आफ्ना कार्यक्रम धमाधम गरिरहेका छन् । हामी तमासा हेरेर उता के गर्छन्, के भन्छन् भनेर कुरेर बसिरहेका छौं । कुरेर बस्ने केही नगर्ने मान्छेहरूले केही पनि गर्न सक्दैनौं । संसार लाक्षीहरूको होइन, कर्मीहरूको हो । गतिशीलहरूको हो । जो गतिशीलतामा विश्वास गर्छ, त्यो अगाडि बढ्छ । बाधा अवरोधहरू पन्छाउँदै अगाडि बढ्छ । यस अर्थमा तपाईंहरू अघि बढ्नुभएको छ, खुसी लागेको छ ।

कोही कुरेर बस्नुभएको छ, केपी ओलीले के भन्ला चित्त दुखाउलान् कि ∕ उनी धमाधम सदस्यता बाँडेर हिँडिरेहका छन्, गालीको कारखाना चालु गरिरहेका छन् । गालीका गोलाबारुदहरू पड्काइरहेका छन् । हामी ‘म्याउँ–म्याउँ’ गरेर बसिरहेका छौं । ‘म्याउँ–म्याउँ’ गर्नेहरूले केही गर्न सक्दैनन् । मैले त यो संसारमा धेरै मान्छेलाई देखेको छु । नाडी छामेको छु । जसको नाडीको धड्कन कम छ, त्यसले केही गर्न सक्दैन । हुन त धड्कन बढी भएकाले पनि पार लाग्न सग्दैन । ठिक्क धड्कन हुनुपर्छ । तर जसको मुटु बलियो छ, उसले चुनौतिको सामना गर्न सक्छ ।

अहिले हामीले अन्तिम मौका दिएका छौं, केपी ओलीलाई । अन्तिम मौका के दिएका छौं भने कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्न ? दोस्रो उहाँले पार्टी सदस्यता वितरण गर्ने कामलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? उहाँले अस्तिको बैठकबाट निर्णय गरेर धमाधम वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नुहुन्न ? गाली गलौजको उहाँको गोला बारुद बन्द हुन्छ कि हुन्न ? यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ । यसो त यसै पनि क्लियर छ । मलाई कुनै भ्रम नै छैन, द्विविधा छैन । केपी ओली सुध्रिएलान् भन्ने मलाई फटक्कै पत्यार छैन । आजको डायरीमा नोट गरेर राख्नुस् । सुध्रिहाले भने म ठान्नेछु मैले अलि आग्रह पालेको रहेछु कि क्या हो । तर यदि केपी ओली सुध्रिएनन् भने उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ? त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने चिच्याउने कराउने टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन ।

हामी सम्मानजनक एकताको कुरा गरिरहको छौं, केपीले मान्न तयार छन् त ? आज पनि मैले लक्षण राम्रो पाएको छैन । तर पनि कहिलेकाँही १२ बज्दासम्म पर्खिनुपर्ने हुन्छ । त्यो पर्खिन्छौं हामी । हामीले अगाडि बढ्ने अवस्थामा कार्यकर्ताको मनोबल गिरायौं भने, निराश बनाउन चाह्यौं भने त्यो हामीले ठूलो अपराध गरिरहेका हुन्छौं । कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न भन्ने हो कि संगठित भएर अघि बढ्न । आफ्नो ठाँउको एकता, केपी ओलीसँगको एकता त दोस्रो कुरा भयो ।

ओली सबैतिरबाट अब एक्लिए’

भोलि सिंगो पार्टी एकताबद्ध बनाइयो भने व्यवस्थापन कसरी गर्ने भन्ने चुनौतीको सामना गर्न सकिनेछ । आजसम्म ओलीको गलत प्रवृतिका विरुद्धमा जुध्दै आएका छौं । खासगरी उहाँको प्रतिगामी कदमको विरुद्धमा जुधेका छौं । यसमा कुनै द्विविधा छ ? उनले प्रतिगामी कदम चालेका हुन् । प्रतिनिधिसभा विघटन गरेका हुन् । त्यसको पछाडिको एउटै कारण के हो भने उनले स्वेच्छाचारी ढंगले सरकार चलाउन पाएनन् । उनको आलोचना भयो । विधिमा चल्न चाहेनन् । यी सबै कारणले समस्या खडा भएको होइन ? पार्टीको बैठक बोलाउनु भएन, अरुको कुरा सुन्नु भएन । सामूहिकतामा चल्न भएन । व्यक्तिवाद हावी भयो । मदन भण्डारी फाउन्डेसनलाई अगाडि बढाउनुभयो । गुटवादी तरिका अपनाउनुभयो । आफू पक्षधरहरूलाई जे पायो त्यै बोल्न लगाउनुभयो । नेताहरूको मानमर्दन गर्न लगाउनुभयो । यो चिज उहाँलाई मान्य भयो । त्यो भइसकेपछि उहाँले दोस्रोपटक पनि प्रतिनिधिसभा भंग गर्नुभयो ।

तर उहाँका प्रत्येक कदम असफल हुँदै गए । किनभने हामीले ती कदम गलत छन् भन्ने सही निष्कर्ष निकाल्यौं र त्यसका विरुद्ध उभिने आँट गर्‍यौं । सिंगो जनसमुदायलाई उतार्‍यौं, सिंगो समाजलाई कन्भिन्स गर्‍यौं । सिंगो समाज ओलीको प्रवृतिबाट वाक्कदिक्क भयो । अहिले सबैतिरबाट ओली एक्लिएको अवस्था छ । तरपनि उहाँले चेत्नुभएको छैन । उहाँका प्रत्येक भाषण सुन्नुस् । मेरो बारेमा के बोल्या छ ? हाम्रो पक्षका साथीहरूका बारेमा के बोलेका छन् ? उनका तलतलका महेस बस्नेत लगायतका उनका एक–एक व्यक्तिका बारेमा लिखतहरू भाषण अभिव्यक्तिहरू सुनाइदिनुस् । त्यसले संकेत के गर्छ ? संकेत राम्रो गर्छ ? तैपनि भ्रम ? तैपनि केपी ओलीलाई सुधार्न सकिन्छ भने ठिकै छ ।

हामी अपराधी /देशद्रोही, महन्थ र कमल थापा क्रान्तिकारी ?’

हाम्रो अर्को पार्टी खोल्ने चाहना होइन । यो पार्टीलाई क्रान्तिकारी बनाएर अगाडि बढाउने नै हो । तर केपी ओलीले पार्टर्ी सिध्याइसकेको होइन ? दक्षिणपन्थी भासमा लागिसकेको होइन? उहाँको सबभन्दा प्यारो महन्थ ठाकुर होइन ? भारतीय नागरिकलाई नेपालमा नागरिकता दिलाउन लागिपरेको होइन ? जसले नेपालको तराई क्षेत्र टुक्राउन अलग्याउन खोजेको होइन ? जसले भारतीय दूतावासमा चाकरी लगाउने र राति १०/११ बजे जाने गरेको होइन बालुवाटारबाट ? जसले विदेशीहरूको पूरै आदेश पालन गर्ने गर्दछ, त्यो होइन ? अनि कमल थापा के हो ? दक्षिणपन्थी हो कि क्रान्तिकारी वामपन्थी हो ? उसँग केपी ओलीको गठबन्धन छैन ? अनि राजतन्त्रवादीहरू उत्साहित भएका होइनन् ? धर्मनिरपेक्षता हटाएर हिन्दु अतिवादलाई हाबी गर्न खोजेको होइन ? कम्युनिस्ट पार्टीको प्रधानमन्त्री राष्ट्रपतिले आफ्नो निवासबाट राम र हनुमानको मूर्ति निकाल्ने ? यहाँ त माक्र्सको मूर्ति पनि पूजा गरेर निकाल्न हुँदैन ।

हिन्दु धर्मावलम्बीहरूको हामीले भावनाको कदर गर्ने हो । अरुको पनि कदर गर्ने हो । बुद्धिस्टहरूको पनि सम्मान गर्ने हो । कसैको अपमान गर्ने होइन । तर कम्युनिस्ट पार्टीको अध्यक्ष भएको मान्छे देशको प्रधानमन्त्री भएको मान्छेले कस्तो किसिमको नीति लिनुपर्छ ? यो छलफल र विश्लेषणको विषय होइन ? गलतलाई गलत भन्ने काम गर्नु के अपराध हो ? औंलो ठड्याउन आँट साहस गर्नु के त्यो अपराध हो ? केपी ओलीको आँखामा ती सबै अपराध हुन् ।

अपराधी, देशद्रोही, गद्दार अनि केपी ओलीको दासता स्वीकार गर्नु त्यो के क्रान्तिकारिता हो ? यी सबै कुराको समीक्षा र विवेचना हुनेछ । यसका बाबजुद विवादित कुरा थाती राखिदिने हो भने पनि मानौला । तर के त्यो थाती रहला त्यहाँभित्र गइसकेपछि ? दैनिक दन्तबझान हुनेछ । दैनिक झगडा हुनेछ । यी केपी ओलीका जति पनि हनुमान छन्, जे मुखमा आयो त्यो बोल्नेहरू छन्, बाँदर सेनाहरू छन् । साइबर सेना स्यालहरू छन् । यी सबैमा नियन्त्रण गर्न सकिएला ? कोही आँट भएका मान्छेहरू छन् भने भनिदिनुपर्‍यो । म आँट भएका मान्छेलाई नेता मान्न म तयार छु । त्यो सम्भव छ ?

सुध्रिने भ्रम नराखौं

मैले देखिसके, सबका नाडी छामिसक्या छु । खुट्टी पनि देखिसक्या छु । त्यसो हुनाले तैपनि हामी ‘ढाँटको निम्तो खाइ पत्याउनु’ भन्छ अन्तिम प्रतिक्षामा छु । अब तपाईंहरूपनि सही निष्कर्षमा पुग्नुभएको होला । सम्मानजनक एकता भएन भने अर्को बाटो जाने । अर्को कम्युनिस्ट पार्टर्ी क्रान्तिकारी पार्टी निर्माणको बाटोमा अगाडि बढ्ने । कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने । अरु शक्तिहरूलाई पनि मिलाउने तालमेल गर्ने । केपी ओलीको पार्टीभित्र पनि क्रान्तिकारी छन् भने पार्टी एकीकरण भइहाल्छ । अहिले नै त्यहाँभित्र क्रान्तिकारीहरूको आँट हिम्मत छ भने त्यसलाई पनि मौका दिएका छौं । तर केपी ओली सुध्रिएलान् भन्ने भ्रम छ भने भ्रम नराखौं ।

केपीलाई विदा गर्न पाए, सबभन्दा राम्रो अहिले नै हो । ५ वर्षको अवधि पुगिसकेको छ । ०७१ सालमा महाधिवेशन भयो । ५ वर्ष भनेको ०७६ मा अवधि सकियो । तैपनि २ वर्षको अतिरिक्त समय पाइसके । ७ वर्ष अध्यक्ष भइसके । दुई वटा पार्टीको अध्यक्ष पनि भइसके । प्रधानमन्त्री भएर पनि चलाइसके । अब किन चाहियो ? हुँदैन भने पनि छिटो महाधिवेशन गर्ने हो । बीचको अवधिमा । दुई नेताको हस्ताक्षर गर्ने कुराहरू समान हैसियतको दुईवटा व्यक्तिहरू एउटै पदमा रहने अवस्था भएन भने केपी ओलीले कसैलाई टेर्ने छैनन् । कुनै एउटा अनुकूल स्थिति बनाउने बाटो हुन सक्दछ । विश्वास बनाउने आधार हुन सक्दछ । यस अर्थमा हामीले भनेका छौं १० बुँदामा लेखिएको जेठ २ गते फर्किने एउटा कुरा भयो । २ गते फर्किइसकेपछि २३ जना मान्छे थपिएको छ भने बहुमतको आडमा उनले निर्णय गर्न थाले भने त्यो बेलामा हामी के गर्छौंं ? टाउकोमा हात राखेर बस्छौं ? तुरुन्त एउटा निर्णय गरिदिन्छन कि यसअघि पार्टीको निर्णयका विरुद्धमा भएका गतिविधिलाई बदर गरिन्छ । त्यस्तो अवस्थामा के गर्छौं हामी ? फरक मत लेख्छौं त्यहाँ ? रोएर बस्छौं त्यहाँ ? मुख देखाउँदै सबैका सामूमा ।

विप्लवले त १० हजार तयार पारे हामी रोएर बस्ने ?’

केपी ओलीलाई प्रधाानमन्त्रीबाट हटाउँ भनेर स्थायी कमिटी एकजुट भएको होइन ? केन्द्रीय कमिटी एकमत भएको होइन ? बरु ल्याउँ ठूटो राखिदिउँ, केपी ओलीलाई हटाउ । महन्थ ठाकुरलाई ल्याउँ तर केपीलाई हटाउँ । शेरबहादुरलाई ल्याउँ केपीलाई हटाउँ भनेको होइन ? अनि आज शेरबहादुर आएकोमा टाउको दुखाइ ? हिजो ल्याउन माधव कामरेड तपाईं अगाडि बढ्नुस् पूरा अधिकार दिन्छौं कसलाई कसरी फकाउनुपर्छ सक्दो गर्नस् तपाईंलाई पूर्ण अधिकार छ भन्ने । त्यसो हुनाले अहिले सिंगो केन्द्रीय कमिटी के निष्कर्षमा पुग्यौं भने अझै पनि मौका दिउँ तर हाम्रा गतिविधि रोक्ने काम नगरौं । अब सदस्यता रोक्दैनन् भने हामी पनि सदस्यताको काम गरौं । जसले रोक्छ त्यसलाई पर्खिने छैन । यसपछि हामी आफ्नो किसिमले गतिविधि गर्छौं । साथमा जो आउनुहुन्छ ठिकै छ । जो छुट्नुहुन्छ केही भन्नु छैन । त्यहाँबाट नै उहाँहरूलाई फाइदा हुन्छ सुरक्षा हुन्छ व्यक्तित्व उठ्छ भने आन्दोलन उठ्छ भने त्यहाँबाटै उठाउने नि । के फरक पर्छ र ∕ गए, कम्तिमा १० हजार मान्छे त तयार पारे विप्लवले । १० हजार त कम्युनिस्ट भए । प्रचण्डले केही गर्नुभयो । वैद्यले केही गर्नुभयो, कम्युनिस्ट त भए । मोहनविक्रमले जडसुत्रवादी विचार बोक्नुभयो । तर इमानदार भएर कम्युनिस्ट हुनुपर्‍यो । जडसुत्रवादी भएपनि कम्युनिस्ट हुनुपर्‍यो । हामी त क्रान्तिकारी गतिशील कम्युनिस्ट हौं । देशको परिस्थिति बुझेका जनताको नाडी छामेका छौं । जनताको बहुदलीय जनवादमा अघि बढेका छौं ।

अहिलेसम्म सबै मोर्चामा जित्दै आएका छौं । त्यसकारण हामीले हतासको मानसिकता राख्नु छैन । ओली सबै कदम हार्दै आएका छन् । हामीले हराउने तर हामी उत्साहित नहुने ? अनि त्यो बेलामा खुट्टा कमाउने ? रामबहादुरले जित्ला कि भनेर त्राहिमाम हुने । हैन एकता नै भंग हुन्छ भन्ने ? भंग त भएन त ? कर्णालीमा भए समाप्त हुन्छ भन्नुहुन्थ्यो भएन त ? सुदुरपश्चिममा बर्बाद हुन्छ भनिन्थ्यो भएन त ? पृथ्वीसुब्बा भए, शंकर पोखरेल भए सिद्धिन्छ भन्ने थियो सिद्धिएन । त्यो सबै ओलीको कारणले भएको हो नि त । आफ्नो बहुमत थिएन भने माओवादीलाई फकाएर राखिदिएको भए । एक्लै ओलीबाट पार लागेन भने हामी सबैको साथ लिइएको भए के कोही हावी हुन सक्थ्यो यहाँ ? सक्दैनथ्यो । त्यसो हुनाले आफ्नो गल्ति कमजोरी स्वीकार नगर्ने । महसुस नगर्ने । अनि त्यसपछि पनि दम्भको भाषा प्रयोग गर्ने दम्भको घोडा चढ्ने । यो प्रवृतिका विरुद्धमा दृढताका साथ उभिने आँट गर्ने कि नगर्ने ?

त्योभन्दा अगाडि बढ्दै यहाँ हामीले रामबहादुरलाई हराइदियौं । खिमलाल देवकोटालाई जिताइदियौं । हामीले केपी ओलीका विरुद्धमा जुध्दाखेरि उनी त ५ वर्षका निम्ती शासकको रूपमा बस्नेवाला थिए । सिलौटोमा पिनेर अचार बनाएर हामीलाई सिध्याउने पक्षमा थिए सकेनन् । तर अहिले पनि प्रतिनिधिसभा विघटन गरेर फेरि प्रधानमन्त्री बन्ने दाउपेचमा लागेका छन् । चिह्न देख्न पर्दैन हामीले । २८ दिनमा आउछु भनेका होइनन् ?

राजिनामा दिंदा आकाश खस्छ ?

हामीले शेरबहादुर सरकारलाई नजिताएको भए हुन्थ्यो के ? त्यै दिन प्रतिनिधिसभा भंग हुन्थ्यो । तुरुन्तै चुनावको घोषणा हुन्थ्यो । कोरोना बोकेर हामी जनताको बीचमा जाने थियौं । चुनाव पनि हुने थिएन । पार्टी बदनाम थियो । हार हुने थियो । चुनाव नभएको भए त देश ठूलो संकटमा जाने थियो । हामीले जोगायौं त । हामीलाई स्याबासी दिनुपर्ने होइन ? धारे हात लगाएको छ, गाली गरेको छ, निन्दा गरेको छ । मात्र आफूलाई केन्द्रबिन्दुमा राखेर । प्रधानमन्त्री हामी बनेको होइन ? पार्टीका कारण मैले राजीनामा गरेको होइन ? झलनाथ कमरेड प्रधानमन्त्री बनेको होइन ? पार्टीभित्रको कारणले राजीनामा दिएको होइन ? अनि केपी ओलीले विश्वास जित्न सकेनन् भने राजीनामा दिँदा आकाश खस्थ्यो ? पेवा हो उहाँको ? त्यसो हुनाले उहाँमा जुन किसिमको व्यक्तिवादी प्रवृति हुर्केको छ । अहंकार बढेको छ । गैरकम्युनिस्ट आचरण विकास भएर गएको छ । विदेशी सामु लम्पसार पर्ने देखिएको छ । त्यसका विरुद्धको यो लडाईं हो ।

यो लडाइँमा दृढताका साथ अगाडि बढ्नुपर्छ । विचारको लडाइँ जारी छ । हामी जे कदम चालेका छौं, ठीक चालेका छौं । देशलाई ठीक दिशामा लिएर गएका छौं । देशलाई अस्थिरताबाट जोगाएका छौं । संकटबाट जोगाएका छौं । अहिले पनि जोगाएर लानुपर्छ । हामीलाई थाहा छ, केपी ओलीभन्दा गतिलो हुन् तर कम्युनिस्टभन्दा गतिला होइनन् शेरबहादुर । सिंगो एमालेभन्दा गतिला होइनन् हामीलाई थाहा छ । तर धेरै बदमासभन्दा कम बदमासलाई ल्याउनुपर्छ भनिन्छ । ऊ त लोकतन्त्रवादी मान्छे हुन् कमसेकम ।

हेर्नुन् त, ऊ प्रधानमन्त्री भए, हामी पूर्वप्रधानमन्त्रीको सम्मान गरेर बोलाए । विशिष्ट अतिथि बनाएर कदर गरे । माधवजीले बाघ सम्मेलनमा यस्तो ऐतिहासिक भूमिका खेल्नुभयो भने । केपी ओलीले सम्झिए आजसम्म ? यत्रो वर्षसम्म प्रधानमन्त्री भएका केपी ओलीले सम्झिए आजसम्म ? कस्तो यहि पार्टीको मान्छे यहि पार्टीको नेता आफ्नो पार्टीभित्रको सिनियर नेताको मानसम्मान कदर गर्न नसक्ने भनेपछि अपमानको कुरा फिल हुन्छ कि हुन्न ? इतिहासप्रति न्याय हुन्छ ? संस्कार कसको राम्रो रहेछ कम्युनिस्ट कि कांग्रेसको ? म त भन्छु कांग्रेसको ।

कांग्रेस पार्टीमा पार्टीभित्रका मान्छेलाई सरकारी मुद्दा चलाएर जेलभित्र कोचेको पाउनुहुन्न । यहाँ त कसरी हुन्छ कोचेर पठाइदिने । माथि त ठूला केपी जिल्ला जिल्लामा साना केपी उस्तै छन् । भाषण सुन्नुस्, अभिव्यक्ति सुन्नुस् । यो सबै चिज हेर्दा अहिले हामील लडाइँ, हामी बीचको मूल समस्या के हो, फरक कुरा के हो पहिचान गरौं । फरक भनेको केपी ओलीमा भएको व्यक्तिवाद, सामूहिकताको अभाव, दक्षिणपन्थी विचलन र सर्वसत्तावाद हो । यस्ता शासक दुनियाँमा भएका छन् । रोम जलिरहेको थियो निरो बाँसुरी बजाइरहेका थिए । उनलाई कुनै मतलव थिएन । देशमा पार्टीमा समस्या भएको छ, केपी ओलीलाई कुनै मतलव छैन । यता छलफल गर्न सकिंदैन थियो ? आउनुस् कामरेड छलफल गरौं भन्न सकिंदैनथ्यो ? हामी फरक विचार समूहप्रति यत्रो पूर्वाग्रह राख्नुपर्ने के आवश्यकता थियो ?

विष्णु पौडेल र सुवास नेम्बाङको झण्डै छाला काढे’

हाम्रो अपराध यत्ति न हो कि नवौं महाधिवेशनमा उम्मेदवार बन्ने दुस्साहस गर्यौं । उहाँका विरुद्धमा उठ्ने आँट, अपराध गर्यौं हामीले । त्यो आधारमा तपाईंहरूले मलाई भोट दिनुभयो, त्यत्ति मात्रै अपराध हो तपाईंहरुको । भोट दिएबापतको अपराध हो । माधव नेपाल राम्रो हो उहाँको पक्षमा छु भनेबापतको अपराध हो । वार्ता टोलीले वार्ता गरिरहेको थियो उहाँले विष्णु पौडेल र सुवास नेम्वाङलाई भन्नु भएछ ‘ए म त तपाईंहरू आफ्नो मान्छे ठान्या थिए नेपालको पक्ष लिँदै हुनुहुन्छ ?’ ल त्यसो भए ठीक छ तपाईंहरू नै वार्ता टोलीमा जानुस् भनेपछि त झन्डै छाला काढेको उहाँहरूको । भनेको त्यहाँभित्रका मान्छेहरू पनि दिक्क हुन थालेका छन् । यो केपी ओलीको प्रवृति ठीक छैन भन्ने महसुस हुन थालेको छ । यो सबैले गर्दाखेरि हण्डर ठक्कर खाएर महसुस गर्ने हामीले महसुस नगर्ने । यस्तो खालको प्रवृतिले हामीलाई विजयको दिशामा अगाडि बढाउन सक्दैन ।

अनन्तकालसम्म वार्तामा झुण्डिनु हुँदैन

विजयको दिशामा अगाडि बढ्ने हो प्रष्ट दृष्टिकोण राखेर अनन्तकालसम्म वार्तामा झुण्डिएर केही पनि हुँदैन । समानान्तर गतिविधि निरन्तर जारी राखेर हामीले जानुपर्छ । यदि केपी ओलीले हामीलाई एउटा कित्तामा पुर्‍याउन खोज्छन् भने हामी विकल्पको निम्ती तयार हुनुपर्छ । तर अहिले हामी त्यो दिशामा जानुपर्छ भनिरहेका छैनौं । अहिले विद्रोही मानसिकताका साथ अगाडि बढिरहेका छौं । अझै पनि एकताको भाव राखेर अगाडि बढिरहेका छौं । भोलि बैठकमा के गर्छन् त्यो हेर्छौं ।

अब हो होइन भन्ने कुराको जाँच भोलि हुन्छ । कुनै पनि गतिविधि रोकेनन् भने हामी अगाडि बढ्नुपर्छ । शक्ति जम्मा गर्दै जाने । शक्ति जम्मा गरेपछि माथि केन्द्रीय कमिटी घोषणा गर्न के को अप्ठ्यारो छ ? ७७ जिल्लामा संरचाना छँदैछ । प्रदेशमा संरचना बनाए भैगो । जनवर्गीय संगठन छँदैछ । सबै साथीहरूको मनोबल उच्च छ । केही साथीहरूको मनोबल कमजोर हुन्छ होला । हिजो साथमा आएका मान्छे लालबाबु पण्डित गइदिए । कृष्णभक्त पोखरेल कुर्लीकुर्ली सर्वोच्च अदालतमा गएर बहस गर्ने मान्छे भागे गर्ने के त ? हुन्छ,यस्ता मान्छेहरू भाग्छन । टिक्ने टिक्छन्, भाग्ने भाग्छन् । भाग्नेको पछि कोही पनि जाँदैन । त्यसअर्थमा हामी के हेर्छौं भने हामीले लिएको विचार ठीक छ कि छैन ? ठिक छ भने अगाडि बढ्नुपर्छ ।

सकेसम्म धेरै मान्छेलाई अगाडि लिएर जानुपर्छ । केपी ओलीसँग रहेका पनि राम्रा मान्छे छन् भने साथमा लिएर जानुपर्छ । पूर्वाग्रह कतै पनि राख्नु पर्दैन । हिजो हामीलाई विरोध गरेको छ भन्ने कसैले महसुस गर्छ भने हिजो हाम्रो साथमा नभएता पनि त्यो साथमा आउँछ भने हामीले त्यहाँ पोजेटिभ धारणा राखेर चल्नुपर्छ । सुधार्ने धारणा राखेर अगाडि बढ्नुपर्छ । हामी आग्रही पूर्वाग्रही र सानो चित्त भएका मान्छे होइनौं ।

घरमा पनि झगडा हुन्छ । तर पारस्परिक रूपमा विश्वास भएन भने लोग्ने स्वास्नी त सँगै बस्न सक्दैनन । पारपाचुके गर्छन् । मार्दिन्छ क्या हो लोग्नेले घाँटी थिचेर भनेर डर भयो भनेर बस्नै सक्दैनन् । झन् कुट्न थाल्यो भने के हुन्छ ? त्यसो भएकाले अलग हुन्छ । सीमासम्म बस्छन् सीमा नाघ्यो भने हुँदैन ।

अपमान मर्यादाको सिमा नाघ्छ र विश्वासको खाडल ठूलो हुन्छ भने यस्तो अवस्थामा अर्को बाटो रोज्ने परिस्थिति बन्छ । त्यसले आनन्दको जीवन बाँच्न सक्दछ ।


Last Updated on: August 8th, 2021 at 11:40 am
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया