सोमबार ०१ कार्तिक २०७८

बुढेसकालमा नागरिकता पाएपछि एक घण्टा नाचे नुर्बु छिरिङ
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८ समय: १७:१९:१०

गोरखा : सीमा प्रशासनका हाकिम घरघरमा नागरिकता बाँड्दै ल्हो आइपुगेका छन् भन्ने खबर पाएपछि बिहीकी छिरिङ साङ्मो एक दिनको बाटो हिंडेर ल्हो पुगिन्।

बुढेसकालसम्म पनि नागरिकता नपाएका कारण वृद्धभत्ता पाउनबाट वञ्चित चुमनुब्री गाउँपालिका २ (साविक ल्हो गाविस)का वृद्धवृद्धाले धमाधम नागरिकता प्रमाणपत्र पाएको देखेर साङ्मो हर्षले गद्गद भइन्। दिनभर ल्होका स्थानीयहरुसित मिलेर रमाइलो साँटासाँट गरिन्। पोल्टामा लिएर गएको चकलेट बाँडेर अपार खुशी मनाइन्।

भोलिपल्ट हाकिमको टोली घरदैलो गर्दै वडा नं. ४ (साविक प्रोक गाविस) जाँदै थियो। उनी पनि सोही टोलीमा मिलेर प्रोक पुगिन्। गाउँलेको खुशी बोकेर आएका नागरिकता टोलीको झोला बोकेर सहयोग गरिन्। वृद्धवृद्धालाई नागरिकता पाउन गर्नुपर्ने कामहरु सिकाइन्। त्यसदिन पनि चकलेट बाँडेर रमाइलो गर्दै बिताइन्।
तेस्रोदिन बल्ल सो टोली नागरिकता बाँड्दै उनको गाउँ वडा नं. ५(साविक बिही गाविस) जाँदै थियो। टोलीलाई बाटो देखाउँदै, झोला बोकेर सघाउँदै उनी पनि आफ्नो गाउँ पुगिन्।

‘जब उहाँले नागरिकता पाउनु भो, यति खुशी हुनुभयो कि, सयचोटी मलाई नमस्कार गर्दै नागरिकतालाई ढोक्दै गर्नुभयो’, सीमा प्रशासन कार्यालय सिर्दिबासका प्रमुख रामप्रसाद शर्माले भने, ‘ल्हो, प्रोकमा जस्तै बिहीमा पनि चकलेट बाँडेर रमाइलो गर्नुभयो।’ नागरिकता नहुँदा यसअघि विभिन्न काम रोकिएकाले अहिले नागरिकता पाउँदा खुशी भएको उनले बताए।

‘बिहीमा स्वास्थ्यचौकी बनाउँदा उहाँको जग्गा पनि किन्ने तयारी रहेछ, तर नागरिकता नहुँदा उहाँको जग्गा किनबेच गर्न नमिलेको रहेछ’, शर्माले भने, ‘नागरिकता त धेरै काम लाग्ने कुरा रहेछ भनेर उहाँ यतिबिधि खुशी हुनुभएको रहेछ।’

साथै बुढेसकालसम्म पनि नागरिकता नपाएर समस्यामा परेका बिहीका बासिन्दा नागरिकता पाउँदा नाचगान गरेर रमाएका उनले बताए। ‘आफ्नी श्रीमती सोनाम छोटेनले नागरिकता पाएको खुशीले स्थानीय नुर्बु छिरिङ यति खुशी भए कि हातमा नागरिकता लिएर धन्नै एकघण्टा जति नाचे होलान्’, सीमा प्रशासन कार्यालयका प्रमुख शर्माले भने, ‘नुर्बु आफै पनि पूर्व प्रधानपञ्च हुनुहुँदो रहेछ। तैपनि श्रीमतीको नागरिकता रहेनछ। नागरिकता नभएका कारण वृद्धभत्ता नपाएर धेरैजना समस्यामा रहेछन्। उनीहरुले पनि नागरिकता पाउँदा धेरै खुशी व्यक्त गरे।’ टोलीले घरदैलो गरेर ८४ जनालाई नयाँ नागरिकता दिएको र ३६ जनाको प्रतिलिपि बनाएको उनले बताए।

 

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ गोरखा सदरमुकामबाट ५२ कोश टाढा छ। सदरमुकामबाट यहाँ पुग्न पाँच दिन पैदल हिंड्नुपर्छ। गाउँपालिकाको केन्द्र तथा सीमा प्रशासन कार्यालय फिलिमबाट पनि यहाँ पुग्न दुई दिन हिंड्नुपर्छ।

वडा नं. १ (साविक सामागाउँ)मा २० जनालाई नयाँ र नौ जनालाई प्रतिलिपि वितरण गरेका थिए। त्यस्तै वृद्धभत्ता पाउनबाट वञ्चित दुई जना पुरुष र एक महिलालाई नागरिकता दिएको उनले बताए। त्यस्तै टोलीले वडा नं. २ मा ३० जनालाई नयाँ र १४ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरेको छ। यहाँ ७० वर्ष कटेका ६ जना महिला र ५ जना पुरुषलाई नागरिकता दिई भत्ता पाउने व्यवस्था गरेको शर्माले जानकारी दिए।

वडा नं. ४ मा टोलीले २३ जनालाई नयाँ र ११ जनालाई प्रतिलिपि प्रदान गरेको छ। यहाँ ७० वर्ष कटेका एकजनालाई नागरिकता दिइएको छ। त्यस्तै वडा नं. ५ मा नयाँ ११ जनालाई र २ जनालाई प्रतिलिपि दिइएको छ। वृद्धभत्ता पाउने उमेरका दुई जनालाई नागरिकता दिइएको शर्माले बताए।

 

आजीवन गोठमा बस्ने तथा विविध कारणले सीमा प्रशासन कार्यालय जान नसकेर नागरिकता बनाउन छुटेकाहरुलाई नागरिकता दिन वडा कार्यालयको व्यवस्थापनमा हेलिकोप्टर चार्टर गरेर नागरिकता टोली गाउँमा पुगेको हो। ‘विभिन्न कारणले नागरिकता बनाउन नपाएका वृद्धवृद्धाहरु धेरै थिए। त्यसैले हामी वडा नं. १, २, ४ र ५ मिलेर हेलिकोप्टर चार्टर गरेर नागरिकता बनाउने टोलीलाई गाउँमा ल्याएका हौँ’, वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले भने, ‘नागरिकता पाउनबाट बञ्चित धेरैजनालाई नागरिकता दिन सफल भइयो।’

नागरिकता पाएपछि वृद्धभत्ता पाउने भइयो भनेर धेरै जना खुशी भएको वडा नं. २ का अध्यक्ष पेम्बारेता लामाले बताए।

annapurnapost


Last Updated on: August 8th, 2021 at 7:21 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया