आइतबार ०७ कार्तिक २०७८

युवापुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’मा अनुबन्धित भएका छन् ।

शनिबार निर्माणपक्ष र अनमोलबीच लिखित सम्झौता भएको हो ।फिल्मका लागि अनमोलले ७५ लाख पारिश्रमिक लिने हल्ला चलेको थियो ।

तर, स्रोतका अनुसार अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिकमा फिल्म सम्झौता गरेका हुन् । पारिश्रमिकबाट तिर्नुपर्ने कर भने निर्माणपक्षले नै तिरिदिने उनीहरूबीच सहमति भएको छ ।

फिल्मका लागि यसअघि बलिउड अभिनेता सुनील सेट्टीलाई पनि अफर गरिएको समाचार बाहिरिएको थियो ।

तर, उनले निकै महँगो पारिश्रमिक माग्ने बुझेपछि निर्माण टिमले बलिउडका अर्का अभिनेता सोनु सुदलाई अफर गर्ने तयारी गरेको छ ।

मुकुन्द भट्टले निर्देशन गर्ने ‘एक्स ९’ लाई नेपालकै पहिलो ठूलो एक्सन फिल्मका रूपमा प्रचार गरिएको छ । फिल्ममा पुष्‍प खड्का, सौगात मल्ल, निश्चल बस्नेत, मिस्टर आरजेलगायतको अभिनय रहनेछ ।

‘गोल्डेन हिल्स पिक्चर्स’को ब्यानरमा बन्ने फिल्ममा राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्टले लगानी गर्नेछन् । फिल्मका कार्यकारी निर्माता दिनेश भट्ट हुन् ।

किङ योगी र निर्देशक भट्टले संयुक्त रूपमा लेखेको फिल्मको छायांकन नेपालसँगै युरोपका विभिन्न देशहरूमा हुनेछ । निर्माण पक्ष आगामी जनवरीदेखि फिल्मको छायांकन गर्ने तयारीमा छ ।


Last Updated on: August 9th, 2021 at 2:39 am
३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया