आइतबार १९ मंसिर २०७८

२५ वर्षीया बिरमा सोमै २२ दिनको सुत्केरी छन् । आफू र नवजात शिशु न्यानो भएर बस्नुपर्ने र पौष्टिक खाना खानुपर्ने बेलामा स्कुलको कक्षा कोठामा दिन बिताउन बाध्य छिन् । ‘बच्चा बिरामी हुन्छ कि भन्ने चिन्तामात्रै लाग्छ,’ उनले भनिन्, ‘आफन्त र छरछिमेकले ल्याइदिएको खानेकुरा खाइरहेको छु ।’

डाँडाको बस्तीलाई तल रातेखोलाको कटान र माथिबाट निरन्तर खस्ने पहिरोले चिराचिरा मात्रै पारेन, बस्तीवासीलाई ज्यानकै जोगाउन छ । सुरक्षित स्थानमा जान खोलामा पुल पनि छैन । भएको पुल बाढीले क्षतविक्षत बनाएको छ । २/३ दिनसम्म पानी र पहिरो रोकिएला भन्ने आशामा गाउँले रातभर जाग्राम बसे । वर्षा र पहिरो भने रोकिएन । बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरे । प्रशासन र गाउँपालिकाले तत्कालै बस्ती सार्नुपर्ने देखेपछि साउन १ को मध्यरातमा सुरक्षित स्थानमा सारियो । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार झरीमा भिज्दै २ घण्टा टाढा रातेखोला वारि सुरक्षित स्थानमा सरे ।

गर्भवती वीरमा मध्यरातको झरीमा भिज्दै सुरक्षित स्थलमा पुगिन् । त्यो कष्ट सम्झिएर उनका आँखा रसाए । ‘पहिरोले घर लैजान लाग्यो । हिँडडुल गर्नसमेत असहज भएको अवस्थामा रातमा आउनु पर्‍यो,’ उनले भनिन्, ‘यहाँ आएको चौथो दिनमै सुत्केरी भए । स्कुलको बास छ । घरजस्तो कहाँ हुन्थ्यो र ? बच्चाले राम्रोसँग हेरचाह पाउँदैन कि भन्ने पीरमात्रै छ ।’

स्थानीय जनता माध्यमिक विद्यालयमा ल्याएर राखेपछि ज्यान जोगिँदा खुसी भए पनि ६७ वर्षीय देउसिंह सोमईलाई पशुचौपाया, कुखुरा, अन्नपात चटक्कै छाडेर मध्यरातमा घर छाड्नु परेको पीडाले भने सताइरहेको छ । ६५ रोपनी जग्गा र ३ घर रहेका सोमई अहिले विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । गाउँका १८ परिवारका १ सय २१ जनालाई गाउँपालिकाले खानाको व्यवस्था गरेको छ । ‘आफ्नो खेतीपाती, पुरानो थातथलो छोड्ने रहर कसलाई हुन्छ र ? परिस्थितिले यस्तै पार्‍यो,’ मलिनो अनुहारमा सोमईले भने, ‘गाउँमा फर्किएर जाने अवस्था छैन । भएको सम्पत्ति गाउँमा यत्तिकै छोडेर आएका छौं । अब जहान परिवार कहाँ राख्ने भन्ने चिन्ताले पिरोलेको छ ।’

अर्का पीडित मीनबहादुर सोमईको पीडा पनि उस्तै छ । गाउँमा अदुवा, अम्रिसो खेती गरेर परिवार पाल्दै आएका उनलाई अब छोराछोरी कहाँ र कसरी पढाउने, लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । ‘विद्यालय सञ्चालन भएपछि हामी कहाँ गएर बस्ने, भएको सबै सम्पत्ति गाउँमा छोडेर आउनु पर्‍यो । रोजगारी केही छैन,’ उनले भने, ‘गाउँमा जाउँ भने ज्यानको खतरा छ । घर चर्किएको छ । अब सरकारले हामीलाई बस्ने घरवासको व्यवस्था गरिदिनुपर्‍यो ।’ बस्ने जग्गा उपलब्ध गराएमा मजदुरी गरेर भए पनि जीविका चलाउँथ्यौं भन्दै उनले नभए घर न घाटको हुने भन्दै पीडा पोखे ।

भूकम्पले चर्किएको बागखोर डाँडामा पहिरो र बाढीले जमिन चिराचिरा पारेको छ । विस्थापित गाउँमा फर्कन सक्ने अवस्था छैन् । गाउँपालिकाले पहिरो खसेको स्थान बसोबासका लागि उपयुक्त भए नभएको अध्ययन गरिदिन खानी तथा भूगर्भ विभागलाई पत्रमार्फत आग्रह गरेको छ । तर बस्ती नै विस्थापित भएको तीन साता पुग्न लाग्दा अध्ययन सुरु भएको छैन । गाउँपालिका एक्लैले १८ घरधुरीलाई जग्गा र आवासको प्रबन्ध गर्न स्रोतको अभाव हुने भएकाले प्रदेश र केन्द्रसँग सहयोग माग गरिएको अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

‘विस्थापित परिवार पीडामा हुनुहुन्छ, हामीले तत्कालका लागि बस्ने र खानाको व्यवस्था गरेका छौं,’ पाण्डेले भनिन्, ‘दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको पहल आवश्यक छ । पहल भइरहेको छ ।’ धेरैजना एकै ठाउँमा बस्नुपर्दा कोरोना भाइरसको जोखिम पनि उच्च छ । नवजात शिशु, सुत्केरी, महिला, अशक्त, वृद्धवृद्धा र बालबालिका पनि समस्यामा छन् ।


Last Updated on: August 12th, 2021 at 7:26 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया