९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित युद्ध टार्न उच्च तहमा संवाद भइरहेको दाबी गरेका छन् । सोमबार उनले इरानमाथि पाँच दिनसम्म आक्रमण नगर्ने र त्यस अवधिमा वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् ।
तर ट्रम्पको उक्त भनाइलाई इरानका विदेशमन्त्री अब्बास अरागचीले अस्वीकार गरेका छन् । इरानी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “अमेरिका र इरानबीच कुनै वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीलाई हामी स्वीकार गर्दैनौँ ।”
यस प्रतिक्रिया पछि ट्रम्पले फेरि पत्रकारहरूसँग कुरा गर्दै इरानका एक उच्च तहका व्यक्तिसँग अमेरिका संवादमा रहेको बताएका छन् । फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “इरान सम्झौता चाहन्छ, हामी पनि चाहन्छौँ । सम्भवतः आज फोनमार्फत कुराकानी हुन सक्छ।”
उनका अनुसार सबै कुरा सकारात्मक रूपमा अघि बढेमा युद्ध टार्न सकिनेछ । तर यदि सहमति हुन सकेन भने आक्रमण जारी रहने संकेत पनि उनले दिएका छन् । “यदि कुरा मिलेन भने बमबारी जारी रहन्छ, अब उनीहरूको प्रतिक्रिया हेर्न बाँकी छ,” ट्रम्पले बताएका छन् । उनले अधिकांश विषयमा सहमति नजिक पुगेको दाबी पनि गरेका छन् ।
यद्यपि ट्रम्पले वार्तामा सहभागी भनिएका इरानी ‘शीर्ष व्यक्ति’ को हुन् भन्ने खुलाएका छैनन् । पत्रकारले इरानका सर्वोच्च नेता मोजतबा खामेनीबारे सोध्दा ट्रम्पले “उनी जिउँदो छन् कि छैनन्, मलाई थाहा छैन” भन्ने प्रतिक्रिया दिएका छन्

