९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक चैत १२ गते दिउँसो ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
उक्त बैठकमा संसदीय दलको नेतृत्व सम्बन्धी विषय मुख्य एजेन्डा रहने बताइएको छ । केन्द्रीय समितिको निर्णयपछि संसदीय दलले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ ।
त्यही दिन नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । शपथपछि तत्कालै केन्द्रीय समिति बैठक राखिएको रास्वपाले जनाएको छ ।
रास्वपाले चुनावअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको थियो । पार्टी र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख गरिएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले सोही दिन बालेनलाई नेता चयन गर्ने र त्यसको भोलिपल्ट अर्थात् १३ चैतमा प्रधानमन्त्रीको शपथ गराउने तयारी रहेको रास्वपाले जनाएको छ ।

