१३ भदौ, काठमाडौं ।
विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन रहेका छन्। निजी क्षेत्रका विद्युत् उत्पादकहरूको संस्था (इप्पान) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार प्रभावित आयोजनाहरूबाट हालसम्म ३६१ जनाको सफलतापुर्वक उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ठूलो संख्या रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिकहरूको रहेको छ।
इप्पानको तथ्यांकअनुसार प्राकृतिक विपत्तिका कारण देशभित्रका ११ वटा जलविद्युत् आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएका छन्। तीमध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशूली-१ आयोजनाका ५७६ जना श्रमिक तथा प्राविधिकहरू अझै सम्पर्कविहीन रहेका छन्। निरन्तरको पहिरो र सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका कारण आयोजना स्थलसम्म पुग्न र वास्तविक क्षति पत्ता लगाउन उद्धार टोलीलाई निकै कठिनाइ भइरहेको छ।
उद्धार गरिएका ३६१ जनामध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीय बासिन्दा र आयोजना प्रवर्द्धकहरूको संयुक्त प्रयासमा उद्धार तथा खोजी कार्य भइरहेको छ। जोखिममा परेकाहरूलाई हवाई उद्धारमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र घाइतेहरूलाई प्राथमिक उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा लैजाने कार्य जारी छ।
माथिल्लो त्रिशूली-१ बाहेक अन्य १० वटा जलविद्युत् आयोजनाबाट समेत सयौँको संख्यामा श्रमिकहरू सम्पर्कविहीन बनेका छन्। विकट भौगोलिक अवस्था र पूर्वाधारमा पुगेको क्षतिको कारण उद्धार टोलीलाई कतिपय आयोजना स्थलमा पैदल मार्गबाट समेत पुग्न समय लागिरहेको छ। सम्बन्धित आयोजनाका प्रवर्द्धकहरूले सम्पर्कविहीन भएका आफ्ना कर्मचारीहरूको खोजीका लागि स्थानीय प्रशासन र गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन्।
प्राकृतिक विपत्तिका कारण निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको भौतिक संरचना, बाँध, सुरुङ र पावरहाउसमा ठूलो क्षति पुगेको छ। यसले गर्दा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका थुप्रै आयोजनाहरूको विद्युत् उत्पादन ठप्प हुनुका साथै निर्माणाधीन आयोजनाहरूको काम समेत पूर्ण रूपमा प्रभावित भएको छ। इप्पानले जलविद्युत् क्षेत्रमा पुगेको क्षतिको पूर्ण विवरण संकलन भइरहेको र प्रभावित स्थानहरूमा तत्काल थप उद्धार सामग्री तथा हेलिकप्टर पठाउन सरकारसँग माग गरेको छ।
सरकारी निकायहरूले विपद् प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा उद्धार र राहत कार्यलाई पहिलो प्राथमिकतामा राखिएको जनाएका छन्। मौसममा सुधार आएसँगै हवाई तथा स्थल मार्गबाट खोजी कार्यलाई तीव्रता दिइने र सम्पर्कविहीन भएका सबै व्यक्तिको अवस्था चाँडै सार्वजनिक गरिने अधिकारीहरूको प्रतिबद्धता छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com




















Leave a Reply