जेनजी आन्दोलनका घाइते शान्तनु ढकालको अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

जेनजी आन्दोलनका घाइते शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र पुनर्स्थापनाका विषयमा जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उपचाररत ढकाललाई भेटेका हुन्।

अस्पताल निरीक्षणका क्रममा मन्त्रीद्वयले ढकालको उपचारमा संलग्न चिकित्सकहरूसँग उनको पछिल्लो स्वास्थ्य स्थिति, भइरहेको उपचार विधि र स्वास्थ्य सुधारका सम्भावनाबारे विस्तृत जानकारी लिएका थिए। चिकित्सक टोलीले घाइते ढकालको उपचार निरन्तर भइरहेको र आवश्यक सम्पूर्ण चिकित्सा सेवा तथा प्रविधि उपलब्ध गराइएको जानकारी गराएको थियो।

भेटघाटका क्रममा मन्त्रीद्वयले सरकारका तर्फबाट उपचार प्रक्रियामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै ढकालको शीघ्र स्वास्थ्य लाभको कामना गरे। स्वास्थ्यमन्त्री निशा मेहताले आन्दोलनका क्रममा घाइते भएका नागरिकको प्रभावकारी उपचार र पुनर्स्थापना गर्नु सरकारको प्रमुख दायित्व रहेको बताइन्। उनले गम्भीर घाइते ढकाललाई दीर्घकालीन रूपमा आवश्यक पर्न सक्ने पुनर्स्थापना सेवाका लागि मन्त्रालयले थप ध्यान दिने स्पष्ट पारिन्।

त्यसैगरी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायराभित्र ल्याएर घाइतेहरूलाई आवश्यक राहत र सहयोग पुर्याउन आफ्नो मन्त्रालय तयार रहेको विचार व्यक्त गरिन्। उनले घाइते र उनीहरूका परिवारलाई विचलित नहुन आग्रह गर्दै राज्य सधैँ साथमा रहने आश्वासन दिइन्।

केही समयअघि भएको जेनजी आन्दोलनका क्रममा शान्तनु ढकाल गम्भीर रूपमा घाइते भई शिक्षण अस्पतालमा भर्ना भएका थिए। हाल ढकालको शिक्षण अस्पतालमा उपचार प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। मन्त्रीहरूको प्रत्यक्ष आगमन र चासोले घाइते तथा उनका परिवारलाई राहत पुगेको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *