सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब नाघ्यो, कुल जिडिपीको ४५ प्रतिशत भार

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक मसान्त) सम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत बराबर हो। आर्थिक वर्षको सुरुआतमा रु २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेको कुल ऋण दायित्व विदेशी विनिमय दरमा भएको अनुकूल फेरबदल र नियमित भुक्तानीका कारण कात्तिक मसान्तसम्म आइपुग्दा केही घटेर २९ खर्ब ७५ अर्बको विन्दुमा कायम भएको हो।

सरकारको कुल ऋण संरचनालाई विश्लेषण गर्दा वैदेशिक दायित्वको हिस्सा अझै पनि बढी देखिन्छ। कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार कुल सार्वजनिक ऋण दायित्व मध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ। जसअनुसार सरकारले वैदेशिक ऋणतर्फ रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख चुकाउन बाँकी छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ अर्ब ५९ लाख पुगेको छ। आन्तरिक ऋणको तुलनामा वैदेशिक ऋणको भार केही बढी भए पनि पछिल्ला महिनाहरूमा आन्तरिक ऋण उठाउने क्रमलाई तीव्र पारिएको छ।

सरकारले चालु आर्थिक वर्षभरिमा कुल रु छ खर्ब ५८ अर्ब २८ करोड बराबरको थप सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य निर्धारण गरेको छ। यद्यपि, कात्तिक मसान्तसम्ममा रु एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको २३.३७ प्रतिशत मात्र हो। प्राप्त ऋणमध्ये आन्तरिक ऋणतर्फ रु एक खर्ब २५ अर्ब उठाइएको छ भने वैदेशिक ऋणतर्फ रु २८ अर्ब ८४ करोड मात्र भित्रिएको छ। यसरी कात्तिकसम्म संकलित कुल ऋणमा आन्तरिक स्रोतको योगदान ८१.२५ प्रतिशत र वैदेशिक स्रोतको योगदान १८.७५ प्रतिशत रहेको छ।

वार्षिक प्रगतिदरको हिसाबले आन्तरिक ऋण संकलन उत्साहजनक देखिए पनि वैदेशिक ऋण परिचालन भने निकै सुस्त देखिएको छ। सरकारले चालु वर्षमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब उठाउने लक्ष्य राखेकामा पहिलो चार महिनामै ३०.४९ प्रतिशत अर्थात् रु एक खर्ब २५ अर्ब हासिल गरिसकेको छ। अर्कोतर्फ, वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख परिचालन गर्ने लक्ष्य राखिएकामा हालसम्म ११.६२ प्रतिशत अर्थात् रु २८ अर्ब ८४ करोड मात्र प्राप्त हुन सकेको छ। यसले गर्दा सरकारले बाँकी अवधिमा अझै रु पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख ऋण परिचालन गर्न बाँकी रहेको छ।

ऋणको दायित्व बढ्दै जाँदा यसको साँवा तथा ब्याज भुक्तानीका लागि राज्यको बजेटमा पर्ने चाप पनि बर्सेनि थपिँदै गएको छ। सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋण दायित्व फरफारक गर्नका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ। कात्तिक मसान्तसम्ममा त्यसमध्ये रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो। चार महिनाको अवधिमा देशको कुल गार्हस्थ्य उत्पादनका आधारमा ऋण सेवा खर्च २.१४ प्रतिशत पुगेको छ।

भुक्तानी रकमको आन्तरिक र वैदेशिक विभाजन हेर्दा आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भएको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋण भुक्तानीतर्फ रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख खर्च भएको छ, जसमा साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख परेको छ। त्यसैगरी, वैदेशिक ऋण भुक्तानीतर्फ विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ। यसमा वैदेशिक ऋणको साँवातर्फ रु १७ अर्ब ३८ करोड र ब्याजतर्फ रु चार अर्ब ३६ करोड ७९ लाख भुक्तानी गरिएको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *