अल्टिच्युड एयर हेलिकप्टर दुर्घटना प्रतिवेदन: ‘ह्वाइट आउट’ कारण दुर्घटना भएको पुष्टि

चैत १५ | काठमाडौं – सोलुखुम्बुको लोबुचे क्षेत्रमा भएको अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा ‘ह्वाइट आउट’ अवस्थाका कारण दुर्घटना भएको पुष्टि गरिएको छ।१२ कात्तिक २०८२ मा दर्ता नम्बर ‘९एन–एएमएस’ रहेको हेलिकप्टर अवतरणका क्रममा हिँउ उडेर दृश्यता अत्यन्त कम भएको थियो। प्रतिवेदन अनुसार हेलिप्याड ताजा हिँउले ढाकिएको हुँदा रोटरको हावाले हिँउ उडाएर ‘ह्वाइट आउट’ अवस्था सिर्जना भएको थियो।अवतरणका क्रममा पाइलटले हेलिकप्टर असन्तुलित भएको अनुभव गरेका थिए। त्यसपछि मुख्य रोटर भुइँमा ठोक्किँदा हेलिकप्टर पल्टिएको थियो। दुर्घटनामा मानवीय क्षति नभए पनि हेलिकप्टरमा गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ।

उक्त हेलिकप्टर चार्टर उडानमा लोबुचे पुगेको थियो र सो दिनकै छैटौं उडान थियो। प्राविधिक समस्या नदेखिएको भए पनि कम दृश्यताका बाबजुद अवतरण जारी राख्नु दुर्घटनाको मुख्य कारण ठहर गरिएको छ।प्रतिवेदनले लुक्ला क्षेत्रमा पर्याप्त जिम्मेवार अधिकारी नहुँदा उडान नियमन र जोखिम मूल्यांकन कमजोर भएको पनि औंल्याएको छ। साथै, लोबुचेमा ग्राउन्ड स्टाफ अनुपस्थित हुँदा पाइलटलाई आवश्यक सहयोग नपुगेको उल्लेख गरिएको छ।समितिले भविष्यमा यस्ता दुर्घटना रोक्न विभिन्न सुझाव दिएको छ। जसमा हेलिकप्टर अपरेटरले व्यस्त समयमा सब–बेसमा अनिवार्य कर्मचारी राख्ने, उडानअघि मौसम र हेलिप्याडको अवस्था बारे स्पष्ट जानकारी लिने, र दुर्गम क्षेत्रमा जोखिम मूल्यांकन प्रणाली लागू गर्ने समावेश छन्।

त्यसैगरी, उच्च हिमाली भेगका हेलिप्याडमा स्पष्ट मार्किङ गर्ने र ‘ह्वाइट आउट’ अवस्थाबारे निर्देशिका बनाउने सुझाव पनि दिइएको छ। उक्त उडान क्याप्टेन विवेक खड्काले सञ्चालन गरेका थिए। हेलिकप्टर बिहान ७:४१ बजे लुक्लाबाट उडेर ७:५२ बजे लोबुचे पुगेको थियो।


यो पनि पढ्नुहोस्