१७ चैत, काठमाडौं । अस्पतालले डिस्चार्ज गरे ओलीलाई हिरासतमा राखिने भएको प्रहरीले जनाएको छ। जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अस्पतालले डिस्चार्ज गरे ओलीलाई हिरासतमा राखिने र त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। प्रहरीका एसएसपी रमेश थापाले अहिले सबै काम कानुनअनुसार भइरहेको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा ओली र लेखकलाई हिरासतमा राखिएको हो। उनीहरूलाई अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। यसैबीच, पूर्वसिडिओ छविलाल रिजाललाई पनि पक्राउ गरिएको छ। यी सबै घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गर्दै कारबाही सिफारिस गरेपछि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही आधारमा उच्चपदस्थ व्यक्तिहरू पक्राउ पर्ने क्रम सुरु भएको हो। प्रहरीका अनुसार हाल प्रारम्भिक अनुसन्धान भइरहेको छ र आवश्यक प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया अघि बढाइनेछ। अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था रहेको छ। प्रहरीले शान्तिपूर्ण विरोध गर्न सबैलाई आग्रह गर्दै हिंसात्मक गतिविधि नगर्न चेतावनी समेत दिएको छ।

