एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओको स्पष्ट भनाइ: “राजनीतिमा हस्तक्षेप गर्दैनौं”

१५ भदौ | काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले विरोधपत्र बुझाउन पुगेका एमाले नेता–कार्यकर्तालाई प्रशासन राजनीतिक विषयमा संलग्न नहुने स्पष्ट पारेका छन्। उनले प्रदर्शनका क्रममा भएका केही हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने जानकारी दिए। एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको थियो। सोही क्रममा रामेश्वर फुयाल लगायतका नेताहरू काठमाडौं प्रशासन कार्यालय पुगेका थिए।

प्रजिअ पौडेलले भने, “राजनीतिक विषयमा हामी प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटी र प्रोफेसनालिजम अनुसार नै काम अगाडि बढ्छ।” यस क्रममा एमालेका एक नेताले यो विषय राजनीतिक मात्र नभई कानुनी पनि भएको बताए, तर प्रजिअले थप बहस नगर्ने स्पष्ट पारे। यसैबीच, ओली पक्राउ परेपछि एमाले कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन्। शनिबार माइतीघर–बिजुलीबजार क्षेत्रमा तोडफोड र आगजनीसमेत भएको थियो। प्रजिअ पौडेलले यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही हुने चेतावनी दिँदै सुरक्षाकर्मीलाई संयम अपनाउन निर्देशन दिइएको र प्रदर्शनकारीलाई पनि शान्त रहन आग्रह गरे।


यो पनि पढ्नुहोस्