१८ चैत काठमाडौं । अफ्रिकी राष्ट्र डिआर कंगो ५२ वर्षपछि फिफा विश्वकप २०२६ मा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। मंगलबार राति सम्पन्न अन्तरमहादेशीय प्लेअफमा जमैकालाई १–० ले पराजित गर्दै कंगोले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।
कंगोको जितमा एक्सेल तुएन्जेबे नायक बने। उनले खेलको अतिरिक्त समयमा १००औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। यही गोल पाँच दशकपछि कंगोलाई विश्वकपमा फर्काउन निर्णायक सावित भयो। यो कंगोको समग्रमा दोस्रो विश्वकप सहभागिता हुनेछ। यसअघि कंगोले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो। अब कंगोले समूह चरणमा पोर्चुगल, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

