१७ चैत, काठमाडौं । छवि रिजाल पक्राउ परेका छन्। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई मंगलबार बिहान पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका पूर्व सिडिओ छवि रिजाल पक्राउ गरी उनलाई सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका समयमा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। सोही घटनासँग सम्बन्धित विषयमा छवि रिजाल पक्राउ गरिएको बताइएको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान अघि बढाइएको हो। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो।
उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ। सोही प्रकरणमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।

