गौतम श्री र गोरखा सहकारी ठगी आरोपमा ५ जना पक्राउ, अर्बौं रकमको हिसाब नदेखिएको खुलासा

चैत २० काठमाडौं । Kathmandu Valley Crime Investigation Office को टोलीले गौतम श्री र गोरखा सहकारी ठगी आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रविन विष्ट रहेका छन्। त्यस्तै, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार गौतम श्री सहकारीमा ४ हजार ७९१ बचतकर्ताको कुल ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बचत रहेको छ। त्यसमध्ये २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ रुपैयाँ ऋण प्रवाह भएको देखिए पनि बाँकी रकमको स्पष्ट विवरण फेला परेको छैन। यस्तै, गोरखा सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको छ। त्यसमध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ भने बाँकी रकमको हिसाब पनि स्पष्ट नभएको प्रहरीले जनाएको छ।

गौतम श्री र गोरखा सहकारी ठगी आरोपमा ५ जना पक्राउ

अनुसन्धानका क्रममा प्रवाह गरिएको ऋण कमजोर धितो, बिना धितो तथा बैंकमा पहिले नै रोक्का रहेको धितोको आधारमा दिइएको पाइएको छ। जसका कारण ऋण असुली हुन नसकेको र बचतकर्तालाई रकम फिर्ता गर्न समस्या भएको देखिएको छ। प्रहरीले आरोपितहरूलाई हिरासतमा राखेर म्याद थप गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।


यो पनि पढ्नुहोस्