पिकलबल विश्वकपमा नेपालको ऐतिहासिक सहभागिता: ६ सदस्यीय टोली भियतनाम जाँदै

Breaking News Nepal

भियतनामको दानाङ सहरमा आयोजना हुने तेस्रो पिकलबल विश्वकपमा नेपालले पहिलोपटक ऐतिहासिक सहभागिता जनाउने भएको छ। यही अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म सञ्चालन हुने उक्त प्रतिष्ठित प्रतियोगिताका लागि ६ सदस्यीय नेपाली राष्ट्रिय टोली बिहीबार भियतनामतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपाल पिकलबल संघका अनुसार यसपटक नेपालले सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकपका लागि चयन भएका खेलाडीहरूमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसीप्रतिमा प्रधान रहेका छन्। टोलीले विभिन्न विधामा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछ।

नेपालका लागि यो सहभागिता अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक मानिएको छ। पछिल्लो समय विश्वभर द्रुत गतिमा लोकप्रियता हासिल गरिरहेको पिकलबल खेल नेपालमा पनि तीव्र रूपमा विस्तार भइरहेको छ। टेबल टेनिस, ब्याडमिन्टन र टेनिसको समिश्रण मानिने यस खेलको विश्वस्तरीय मञ्चमा सहभागिताले नेपालमा खेलको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रतियोगितामा सहभागी हुन लागेका नेपाली खेलाडीहरूले विगत केही समयदेखि विशेष प्रशिक्षण गर्दै आएका थिए। पहिलोपटक विश्वकपजस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउन पाउनु टोलीका लागि गौरवको विषय भएको र यसले अन्तर्राष्ट्रिय खेलाडीहरूसँगको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न ठूलो सहयोग पुग्ने खेलाडीहरूको भनाइ छ।

संसारका विभिन्न देशहरूका उत्कृष्ट खेलाडीहरूको उपस्थिति रहने यस विश्वकपमा नेपालको सहभागिताले नेपाली पिकलबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मद्दत पुग्नेछ। संघले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउँदै खेल प्रतिभाहरूको विकासमा जोड दिने लक्ष्य राखेको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Founded by Ramesh Poudel