११ चैत, काठमाडौं — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए। उनी ७८ वर्षका छन्।
केसीले राष्ट्रपतिबाट शपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यलाई पनि शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नहुँदासम्म केसीले बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट १६५ र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित भएका छन्।

