१० भदौ, काठमाडौं ।
तिब्बतको स्वशासित क्षेत्रमा हिमताल फुटेर नेपालका विभिन्न भागमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन चौतर्फी आग्रह र निर्देशन दिइएको छ। देशको प्रमुख सत्तारूढ दल नेकपा एमाले र पूर्वराजा ज्ञानेन्द्र शाहले छुट्टाछुट्टै वक्तव्य तथा निर्णयमार्फत प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, राहत तथा घाइतेको उपचार सुनिश्चित गर्न सरकार एवं सम्बन्धित निकायहरूसँग जोडदार माग गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा एमालेको सचिवालय बैठकले बाढी र पहिरोका कारण समस्यामा परेका नागरिकहरूको सहायताका लागि सम्पूर्ण पार्टी पंक्तिलाई मैदानमा उतारिने निर्णय गरेको छ। एमालेले आफ्ना स्थानीय तहका कार्यकर्ता तथा पार्टी सम्बद्ध भातृ संगठनहरूलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहत वितरण कार्यमा अग्रसर हुन स्पष्ट निर्देशन दिएको छ। प्राकृतिक विपत्तिको यस घडीमा राजनीतिक भिन्नताभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुन एमालेले आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेको छ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक सन्देश जारी गर्दै तिब्बत क्षेत्रमा हिमताल विस्फोट भई आएको बाढीले नेपालका विभिन्न जिल्लामा पुऱ्याएको भयानक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढी र पहिरोका कारण घरबारविहीन भएका, घाइते भएका तथा ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै राज्यका सबै निकायलाई पूर्ण क्षमताका साथ खोजी, उद्धार तथा राहत कार्यमा खटिन आग्रह गर्नुभएको छ।
चीनको तिब्बतमा रहेको हिमताल फुटेर आएको अनपेक्षित बाढीका कारण नेपालका सीमावर्ती जिल्लाका साथै भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। बाढीका कारण कैयौँ घरपरिवार विस्थापित बनेका छन् भने मुख्य राजमार्ग, पुल, विद्युत् र सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भइरहेको छ।
प्रकोपको यो संकटपूर्ण समयमा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सुरक्षा निकायका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाढी प्रभावित क्षेत्रका विस्थापितहरूका लागि खाद्यान्न, सुरक्षित पिउने पानी, त्रिपाल, कपडा र अत्यावश्यक औषधिहरू तत्काल उपलब्ध गराउन सरकारी तथा गैरसरकारी संघ-संस्थाहरूबीच एकीकृत समन्वय हुनुपर्नेमा जोड दिइएको छ।
नेपालमा जलवायु परिवर्तन र मनसुनी प्रकोपका कारण हिमताल फुट्ने तथा पहिरो जाने जोखिम निरन्तर बढिरहेकाले छिमेकी मुलुकहरूसँग पूर्वसूचना प्रणाली र एकीकृत विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्ने आवश्यकता देखिएको छ। विज्ञहरूका अनुसार क्षति न्यूनीकरणका लागि तटीय क्षेत्रका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार र पुनस्तापनालाई प्राथमिकतामा राख्नुपर्छ।
देश अहिले बाढी पहिरोको विषम परिस्थितिबाट गुजरिरहेको अवस्थामा सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदाय एकजुट भएर राहत र उद्धारमा लाग्नुको विकल्प छैन। प्रभावित नागरिकहरूलाई तत्काल राहतको अनुभूति गराउन र पुनर्निर्माणका कार्यहरू अघि बढाउन पारदर्शी र दु्रत गतिमा काम गर्न आवश्यक देखिएको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com


















Leave a Reply