१९ चैत काठमाडौं । महेश बस्नेत विरुद्धको रिट उच्च अदालतले खारेज गरे पनि अनुसन्धान तथा कारबाही प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। उच्च अदालत पाटन का न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। शोभा पाठकले बस्नेतविरुद्ध अनुसन्धान गरी कारबाही अघि बढाउन परमादेश माग गर्दै रिट दायर गरेकी थिइन्।
अदालतले दिएको आदेशमा काठमाडौं जिल्ला अदालतबाट कारबाही प्रक्रिया अघि बढिरहेको देखिएकाले पुनः परमादेश जारी गर्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ। यससँगै, जिल्ला प्रहरी परिसर काठमाडौं ले थप प्रमाण फेला पारेमा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने बाटो खुला रहेको कानुनी जानकारहरूले बताएका छन्। यसअघि बलात्कार र भ्रूण हत्यासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ अनुमति मागेको थियो। तर जिल्ला अदालत काठमाडौं ले मुद्दा उच्च अदालतमा विचाराधीन रहेको भन्दै अनुमति दिएको थिएन।
कानुनी प्रावधानअनुसार ‘तामेली’मा राखिएको मुद्दा पनि हदम्यादभित्र नयाँ प्रमाण भेटिएमा पुनः सक्रिय गर्न सकिने व्यवस्था रहेको सरकारी वकिलहरूले बताएका छन्। शोभा पाठकले करिब दुई वर्षअघि बस्नेतविरुद्ध गम्भीर आरोपसहित जाहेरी दिएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा पर्याप्त प्रमाण नदेखिएको भन्दै मुद्दा तामेलीमा राखिएको थियो। सो निर्णयविरुद्ध उनी उच्च अदालत पुगेकी थिइन्, तर उक्त रिट पनि खारेज भएको हो। यस घटनाले रिट खारेज भए पनि अनुसन्धानको ढोका भने बन्द नभएको स्पष्ट गरेको छ।

