१५ चैत | काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा अन्तिम चरणतर्फ पुगेको छ। विशेष अदालतले उक्त मुद्दामा संलग्न कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न निर्देशन दिएको छ। न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट माग गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको माग गरेको छ। आरोपअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको उल्लेख गरिएको छ। मन्त्रिपरिषद्को २०६६ फागुन ६ गतेको निर्णयमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिइएको थियो। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत अतिरिक्त जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ। ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा हिनामिना भएको दाबी गर्दै आयोगले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

